स्वास्थ्यमन्त्री पौडेलले वैद्यखानाको अध्यक्षमा नियुक्त गरेका डा. दुवाडी नक्कली प्राध्यापक
काठमाडौँ : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मनोनीत गरेका डा. ठाकुर प्रसाद दुवाडी नक्कली ‘प्राध्यापक’ भएको पुष्टि भएको छ।
डा. दुवाडीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सिफारिसमा मन्त्रीपरिषद्ले २०८१ असोज १८ मा सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो।
उकेराले प्राप्त गरेको पत्रमा उनलाई सरकारले प्राध्यापक भन्दै समितिको अध्यक्षमा मनोनीत गरेको देखिन्छ। तर उकेराको खोजमा उनी प्राध्यापक नभएको पुष्टि हुन्छ।
उनले आफूलाई नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक भएको दाबी गर्ने गरेका छन्। तर विश्वविद्यालयको कुलसचिव माधव अधिकारीले उकेरासँगको कुराकानीमा डा. दुवाडी हाल संस्कृत विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ समेत नभएकाले उनले प्राध्यापक लेख्न नपाउने बताए।
मन्त्रीपरिषद्ले ‘फुजेल–२, गोरखा’का ‘प्रा. डा. ठाकुरप्रसाद दुवाडी’ उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले उनलाई वैद्यखानाको अध्यक्षको रूपमा २०८१ असोज ३० गते मनोनयन पत्र दियो। अध्यक्षमा मनोनीत भएपछि कात्तिक एक गते उनको मनोनयन पत्र वैद्यखानामा दर्ता भएको देखिन्छ।
मन्त्रालयले उनलाई दिएको पत्रमा ‘सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेश, २०७७ को दफा–३ को उपदफा (२) को खण्ड (क) बमोजिम’ मन्त्री परिषद्को २०८१ असोज १८ को निर्णय अनुसार अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ।
डा. दुवाडी वैद्यखानाको अध्यक्ष हुनका लागि प्राध्यापक हुनुपर्ने मापदण्ड आवश्यक थिएन। तर उनले अवैध रूपमा सो पदको प्रयोग गरिरहेका छन्। उनले प्रयोग गरेको नक्कली पदवीलाई मन्त्रीपरिषद्ले पनि स्वीकार गरेको देखिन्छ।
‘सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेश, २०७७ को दफा–३ मा समिति गठन सम्बन्धी व्यवस्था छ। गठन आदेशको दफा–३ को उपदफा (१) मा ‘गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने समेतका कार्यका लागि वैद्यखानाको सञ्चालन तथा व्यवस्थापन गर्न सिंहदरबार वैद्यखाना विकास समिति नामको एक गठन समिति रहने’ व्यवस्था छ।
गठन आदेशको दफा–३ को उपदफा (२) मा उपदफा (१) को खण्ड (क) मा ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी आयुर्वेदको क्षेत्रमा संलग्न व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत एक जना’ अध्यक्ष हुने व्यवस्था छ। डा. दुवाडी यही नियम अनुसार वैद्यखानाको अध्यक्षमा नियुक्त भए।
नियम हेर्ने हो भने वैद्यखानाको अध्यक्षका लागि प्राध्यापक हुन जरुरी छैन। उनले अध्यक्षका लागि आफू अब्बल भएको भन्दै बलियो दावेदारी देखाउन प्राध्यापक पद देखाए। मन्त्री पौडेलले दुवाडी प्राध्यापकै रहेछन् भन्दै अध्यक्षमा नियुक्त गर्न सिफारिस लगे। उनको सिफारिस पत्याउँदै मन्त्रिपरिषद्ले पनि नियुक्ति गर्यो।
उकेराले प्राप्त गरेको प्रमाण र सम्बन्धित विश्वविद्यालयले समेत डा दुवाडी प्राध्यापक हैनन् भनिसक्यो। तर डा. दुवाडी भने आफू प्राध्यापकै भएको दाबी गर्छन्।
उकेरालाई प्राप्त तथ्य अनुसार नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय कार्यालय, बेलझुण्डी, दाङस्थित कुलसचिवको कार्यालयको २०७९ माघ २७ गतेको एक पत्रमा ‘आयुर्वेदतर्फ पहिले करारमा रहेका र हाल सेवा निवृत्त तथा सेवा छोडेका प्राध्यापकहरू’को सूचिमा डा. दुवाडी सहित चार जना चिकित्सकको नाम उल्लेख छ।
विश्वविद्यालयको कुलसचिवको कार्यालयले सो पत्रमा‘यसरी ने.सं.वि.मा नियुक्त प्राध्यापकहरूमा स्थायी रूपमा नियुक्ति पाएकाहरूले सधैँभरि नामको अगाडी प्राध्यापक लेख्न पाउने तर करारमा कार्यरत प्राध्यापकहरूले करारको म्याद समाप्त भएपश्चात् नामको अगाडी प्राध्यापक लेख्न नपाउने ब्यहोरा अवगतार्थ अनुरोध गर्दछु’ लेखिएको छ।
उनी सरकारी जागिरे हुँदाहुँदै विश्वविद्यालयमा पढाउँथे। एकै पटक दुई तिर स्थायी हुन सम्भव छैन। उनी आयुर्वेदतर्फका स्थायी सरकारी कर्मचारी थिए।
यो पत्र अनुसार डा. दुवाडी आयुर्वेदतर्फ पहिले करारमा रहेका र हाल सेवा निवृत्त तथा सेवा छोडेका प्राध्यापक हुन्। त्यसैले संस्कृत विश्वविद्यालयको कुलसचिवको कार्यालयको पत्र अनुसार उनले लेखेको प्राध्यापक पद नक्कली देखिन्छ।
तर, उनले मात्रै प्राध्यापक लेखेका छैनन्। स्वास्थ्य मन्त्रालयले समेत उनलाई प्राध्यापककै रूपमा वैद्यखानाको अध्यक्षमा नियुक्त गर्दै पत्र नै दियो।
डा. दवाडीको कुतर्क
वैद्यखानाको अध्यक्षमा नियुक्त भएका डा. दुवाडीले भने नेपाल संस्कृत विश्वविद्यालयमा आफू प्राध्यापक नै रहेको भन्दै आफूलाई यो नियम लागु नहुने कुतर्क गरे।
‘म करारको प्रोफेसर हैन, त्यो मलाई लागु हुँदैन’,उनले उकेरासँगको कुराकानीमा भने।
तर, पत्रमा त तपाईँले प्राध्यापक लेख्न नपाउने भनेरै प्रस्ट लेखिएको छ त? भन्ने जिज्ञासामा डा. दुवाडीले भने,‘त्यो मिस्टेक्ली लेखिएको होला। हामीलाई करारमा राखेकै हैन।...मेरो प्रसङ्गमा त्यो मिल्दैन। त्यहाँ मिस्टेक्लि लेख्छन् नि। बुझ्दैनन् नि त। जेन्युन कुरा के हो भनेर थाहा नभई पनि लेखेको हुन सक्छ।’
उकेरासँगको कुराकानीका क्रममा पटक-पटक डा. दुवाडीले आफू संस्कृत विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भएको जिद्धि गर्दै संस्कृत विश्वविद्यालयले प्राध्यापक लेख्न नपाउने भन्ने विषय त्रुटिपूर्ण रूपमा लेखिएको हुनसक्ने कुतर्क गरे।
‘विश्वविद्यालयको सिनेटले पास गरेर हामीलाई प्राध्यापक बनाएको हो। त्यो (चिठी) त सिनेटले पास गरेको हैन नि। सिनेटले पास गरेको कुरा कसैले चिठी लेख्दैमा त्यो त होला जस्तो लाग्दैन। त्यो त विश्वविद्यालयको रुल्सको अगेन्स्टमा हुन्छ।’
जबकि उनले प्राध्यापक लेख्न नपाउने विश्वविद्यालयको कुलसचिवको कार्यालयले नै प्रस्ट पारिसकेको देखिन्छ।
तर कुराकानीमा डा. दुवाडीले पटक पटक आफू प्राध्यापक नै भएको कुतर्क गर्दै ढाँटिरहे।
उनले भने,‘अहिले पनि म त्यहाँ गइरहेको छु। एक्जामिनेशमा गइरहेको छु। मेरो कन्टिन्युटी नै छ। कहिले अरू केही प्रोग्राममा। कहिले लेक्चरिङमा हुन्छ। म अहिले पनि त्यहाँको भिजिटिङ प्रोफेसर हो।’
तर, विश्वविद्यालयका कुलसचिव अधिकारीले भने डा. दुवाडी विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’को भूमिकामा समेत नभएको प्रस्ट पारे।
डा. दुवाडीले पहिले दाङमा प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी दाङमा हुँदाखेरी बीएएमएसका विद्यार्थीलाई भिजिटिङ प्रोफेसरका रूपमा पढाए पनि अहिले भने लामो समयदेखि विश्वविद्यालयमा नभएको कुलसचिवले बताए।
‘अहिले हुनुहुन्न। लामो समय भइसक्यो उहाँ आउनु भएको छैन’,विश्वविद्यालयका कुलसचिव अधिकारीले भने,‘उहाँ सेवा निवृत्त भइसकेपछि विश्वविद्यालयले उहाँलाई भिजिटिङ प्रोफेसरका रूपमा राखिराखेको छैन।’
यसले डा. दुवाडी भिजिटिङ प्रोफेसर समेत नभएको पुष्टि हुन्छ। दाङको आयुर्वेद प्रादेशिक अस्पतालका जागिरे भएका बेला डा. दुवाडीले विश्वविद्यालयमा केही समय हप्तामा एक-दुई वटा कक्षा लिएको तर अहिले उनले प्राध्यापक लेख्न नपाउने उनले बताए।
विश्वविद्यालयको परीक्षा तथा अन्तर्वार्ता जस्ता प्रयोजनका लागि विशेषज्ञका रूपमा बोलाउन डा. दुवाडीको नाम रोष्टरमा हुन सक्ने तर रोष्टरमा नाम हुँदैमा प्राध्यापक लेख्न नपाउने कुलसचिव अधिकारीले प्रस्ट पारे।
जनशक्ति नपाएको बेलामा विश्वविद्यालयले प्राध्यापक सरहको सुविधा दिएर पनि मान्छे करारमा राख्ने सक्ने व्यवस्था भएकाले त्यही आधारमा डा. दुवाडीले भिजिटिङ प्रोफेसर लेखे पनि विश्वविद्यालयमा विद्यार्थीलाई पढाउन छोडेपछि प्रोफेसर लेख्नै नपाइने कुल सचिव अधिकारीले बताए।
एक वर्ष अवधि नि नभएकालाई अध्यक्षको जिम्मेवारी
अध्यक्षमा मनोनयन भएपछि मन्त्रालयले डा. दुवाडीलाई दिएको पत्रमा ‘...अध्यक्ष पदमा ६५ वर्ष (२०८२-५-१५) पुग्ने मितिसम्म पदावधि रहनेगरी मनोनयन गरिएको’ उल्लेख छ।
सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेशको दफा–४ मा अध्यक्ष र सदस्यहरूको नियुक्ति तथा मनोनीत हुने योग्यता तोकिएको छ।
गठन आदेशको दफा–४ को खण्ड (ख) मा ‘पैँतिस वर्ष उमेर पूरा भएको व्यक्ति अध्यक्षमा नियुक्त वा सदस्यमा मनोतित हुने योग्य हुने व्यवस्था छ भने (ग)मा पैँसट्ठी ननाघेको हुनुपर्ने उल्लेख छ।
अध्यक्षमा नियुक्तका लागि ६५ वर्षे उमेर हदका कारण नै उनलाई २०८२ भदौ १५ गतेसम्मलाई अध्यक्षका रूपमा मनोनीत गरेको देखिन्छ।
गठन आदेशको दफा–३ को खण्ड (३) मा ‘उपदफा (२) को खण्ड (क) बमोजिम नियुक्त अध्यक्ष र खण्ड (ज) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुने उल्लेख छ।
यसरी हेर्दा डा. दुवाडी तीन वर्षका लागि नियुक्त भए पनि ६० वर्षे उमेर हदका कारण उनी वैद्यखानाको अध्यक्षमा मनोनयन भएको एक वर्ष नपुग्दै आउने भदौमा अध्यक्षबाट हट्नु पर्नेछ।
तीन वर्षसम्मका लागि वैद्यखानामा अध्यक्ष मनोनीत गर्न सकिने भए पनि मन्त्री पौडेलले डा दुवाडी छान्ने निर्णय नै शङ्कास्पद देखिन्छ।
मन्त्री पौडेलले उनलाई नै किन छाने? यसबारे उकेराले मन्त्रालयका केही अधिकारीहरूसँग बुझ्दा पौडेलले सिनियर पनि र प्राध्यापक समेत रहेको चिकित्सक भनेर उनलाई अध्यक्षमा नियुक्त गरेका हुन्। अब उनको प्राध्यापक पदै नक्कली पुष्टि भएपछि मन्त्री पौडेल नैतिक सङ्कटमा पर्ने निश्चित छ।
मंसिर ४, २०८१ मंगलबार २०:४६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।