बराहक्षेत्रको कात्तिके मेलामा तीन लाख तीर्थालु आए
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र मन्दिरमा यसपटकको कात्तिके मेलामा तीन लाख तीर्थालु उपस्थित भएका छन्।
बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिके मेला लाग्ने गर्दछ। मेलामा नेपालका विभिन्न जिल्लासहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले बताए।
हिउँद लागेसँगै वराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले सुनाए।
बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक आउने गर्दछन्। चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताए।
बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ। साथै, बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भई आनन्द प्राप्त हुने जनविश्वास छ।
मंसिर ४, २०८१ मंगलबार २०:२१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।