प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानीबारे सामाग्री प्रशारण गर्ने ८ युट्युब च्यानल र एक फेसबुक पेजलाई कारबाही
काठमाडौं : प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले आज एक विज्ञप्ति जारी गरी दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका एक फेसबुक पेजसहित अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको जानकारी दिए। ।
काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको अनुगमन गरिरहेको जनाएको छ।
'यही क्रममा केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिइ प्रसारण भएकाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य हुन्। त्यस्ता गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।'
दर्ता र सूचीकरण विना चलेका तीन च्यानलबारे थप अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरिएको छ। सूचीकरण भएका च्यानलहरूलाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ।
काउन्सिलले केही युट्युब च्यानल र फेसबुक पेजहरूको नामसमेत सार्वजनिक गर्दै यस्ता सामग्रीहरू नहेरिदिन, शेयर नगर्न, र त्यसको प्रचारप्रसार नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता सामग्री बनाउने र अपलोड गर्ने पक्षलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
यसैबीच अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिई सूचना सामाग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नुपर्ने बताए।
'कानुनभन्दा माथि कोही छैन। अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका सामाजिक सञ्जाल गैरजिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन। प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन, उनले भने।
मंसिर ४, २०८१ मंगलबार १९:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।