पर्यटनमन्त्री पाण्डेले करोड घुस लिएको आरोप लगाएपछि सांसद बजगाईँलाई कांग्रेसले स्पष्टीकरण लियो

पर्यटनमन्त्री पाण्डेले करोड घुस लिएको आरोप लगाएपछि सांसद बजगाईँलाई कांग्रेसले स्पष्टीकरण लियो

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले करोडौं रूपैयाँ घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएपछि नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईँसँग स्पष्टीकरण लिएको छ। 

आनन्दप्रसाद ढुंगाना नेतृत्वको कांग्रेस केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंलाई पर्यटनमन्त्री पाण्डेमाथि लगाएको उक्त आरोपबारे स्पष्टीकरण सोधेको हो।

त्यसपछि सांसद बजगाईं स्पष्टीकरणका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। त्यहाँ अनौपचारिक छलफल भइरहेको छ। 

'हामीले उहाँसँग कुरा गरेर प्रक्रिया थालेका छौं, छानबिनपछि आवश्यक निर्णय लिने छौं,संयोजक ढुंगानाले भने।

त्यसअघि बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।’

त्यसपछि पर्यटनमन्त्री पाण्डेले पटक-पटक आफू छानबिनका लागि तयार रहेको बताउँदै आएका छन्। मन्त्री पाण्डे पार्टी सहमहामन्त्रीसमेत हुन्।  

मंसिर ४, २०८१ मंगलबार १९:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।