खानेपानीमा निजी कम्पनीहरूको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ : खानेपानी मन्त्री
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन्।
मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने बताए।
मन्त्रालय वा खानेपानीलाई निजी कम्पनीहरूको ग्याङले चलाउने गरेको पनि बताए।
उनले भने, ‘यहाँ निजी कम्पनीहरूको नै चल्ती छ। अरू कसैको छैन। उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ। अवस्था त्यस्तो छ। हामीलाई धेरै झन्झटिलो कानूनले गर्दा पनि समस्या भइरहेको छ।’
मन्त्री यादवले तराई मधेश क्षेत्रमा धमाधम चुरे दोहन गरिएकाले पानीका मुहान सुक्दै जान थालेका बताए। खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचे वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उनको भनाई छ।
उनले तराई मधेशमा पानीको सतह घट्दै जानु, चापाकलमा पानी सुक्नु र पहाडमा पानीका मुल सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागि रहेको जानकारी दिए।
'तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ, उनले भने।
मन्त्री यादवले हिमालको शुद्ध पानी, जडिबुटी मिसिएको मेलम्चीको पानी काठमाडौंका नागरिकका लागि ल्याइएको भए पनि विभिन्न ठाउँमा पाइप फुटेका कारण उक्त पानीमा धमिलो पानी मिसिने भएकाले तत्काल मर्मत गर्नका लागि आग्रह गरे।
मंसिर ४, २०८१ मंगलबार १८:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।