मानव तस्करीका आरोपी पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं : काठमाडौं जिल्ला अदालतले मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
मानव तस्करी आरोपमा गत कात्तिक २४ मा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिवारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। उनी जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नभएको खुलेपछि विवाद सुरू भएको थियो।
चर्को आलोचना भएपछि उनले कात्तिक २० मा राजीनामा दिएका थिए। पहिला नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरे पनि राजीनामाको कारण भ्रमण स्वीकृत नगराई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडियो।
मंसिर ४, २०८१ मंगलबार १८:३४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।