दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका ल्यापटप र मोबाइलबाट डिलिट भएका विवरण रिकभर गरिँदै

दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका ल्यापटप र मोबाइलबाट डिलिट भएका विवरण रिकभर गरिँदै

काठमाडौं : प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो। त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए। 

थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ। डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन्।

सोमबार प्रसाईंको फेसबुक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन्। त्यसमा प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा ‌३२ अर्ब लगानी रहेको मुख्य आरोप छ। त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरू कीर्ते गरेर तयार पारिएको देखिएको छ। फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरूद्ध ‘कीर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ। 

मुलुकी फौजदारी संहिता-२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन। सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन। सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ।

सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार प्रसाईंविरूद्ध मानहानीको पनि मुद्दा चल्छ। एआइजी थापाले यस कसुरमा फर्जी कागजातहरू समेत देखाइएकाले लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान हुन सक्ने बताए।

सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरो भोटाहिटी पठाइएको छ। 

मंसिर ४, २०८१ मंगलबार १८:०६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।