एक वर्षभित्र बिहे हुने अपेक्षामा छिन् दीपाश्री

एक वर्षभित्र बिहे हुने अपेक्षामा छिन् दीपाश्री

काठमाडौं : ‘छक्का पञ्जा’ जस्ता हिट फिल्म दिएकी निर्देशक दीपाश्री निरौला अझैँ अविवाहित छिन्। त्यसैले पनि उनलाई विवाह कहिले गर्ने भन्ने प्रश्नले अहिलेसम्म छाडेको छैन।  

सोमबार टेलिभिजन कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा कार्यक्रममा कलाकारहरू बटुल्दाका रमाइलो भिडियोहरू पत्रकारमाझ राखिएको थियो। जहाँ दीपालाई कमेडी शोमा ल्याउँदाको ९ वटा केटाहरूको फोटो छान्न दिइन्छ। तर, उनले ती सबैको फोटोलाई रिजेक्ट गर्छिन्। 

यो भिडियो हेरेपछि पत्रकारले दीपाश्रीलाई प्रश्न तेर्स्याउँछन्, 'तपाईंले अहिलेसम्म कति जनालाई रिजेक्ट गर्नुभयो?' दीपाश्रीले घुमाउरो पारामा पहिला रिजेक्ट गरियो अहिले छैन भन्ने जवाफ फर्काउँछिन्। 

उनले भनिन्, ‘त्यो बेलामा गरिया थियो, अहिले चाहिँ खासै गर्या छैन।’

त्यसपछि उनी मज्जाले हाँसिन्। बिहेका प्रश्नले निकै लजाएकी दीपाले आफ्नो शो हेर्दै निकै हाँसेकी थिइन्।  

उनले अगाडि भनिन्, ‘कुनै जवान केटी बाटोमा हिँड्छे भने प्रस्ताव त आइहाल्छ,’ उनी लजाउँदै भन्छिन्, ‘त्यो प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा समय आएपछि थाहा हुन्छ। एक वर्षसम्म दर्शक हँसाउँदै केटा छान्दै भन्याजस्तै सायद एक वर्षभित्रमा केही हुन्छ कि!’

उनले एक वर्षभित्रमा बिहे गर्ने सम्भावना निकै रहेको सुनाइन्। उनको विवाह हुन्छ हुँदैन थाहा छैन। तर, उनी बिहेको कुरामा भने निकै लजाइन्। 

उनी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को अध्यक्षको भुमिका निर्वाह गर्दैछिन्। अघिल्ला श्रृङ्खलामा पनि उनी विशाल भण्डारीको टिममा रहेर अध्यक्षको भुमिका निर्वाह गर्दै आएकी थिइन्। यसपटक पनि निर्माण टिमले उनलाई निरन्तरता दिएको छ। 

थ्री प्रोडक्सन प्रस्तुतकर्ता रहेको यो शोको नाम परिवर्तन गरिएको छ। अघिल्लो पटक ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरेर नाइट थपेका छन्। होस्ट तथा निर्देशक विशाल भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले शो निर्माण गर्दैछन्। 

शोमा ‘कमेडी च्याम्पियन’को अघिल्लो सिजनका विजेता भरतमणि पौडेलदेखि कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सुमन कोइरालासम्म अटाएका छन्। 

तर, यही टिमका अर्का विजेता हिमेश पन्त भने अटाएनन्। उनी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको ‘कमेडी दरबार’मा छन्। ‘कमेडी क्लब विथ च्याम्पियन’को मुख्य प्रतिस्पर्धी पनि कमेडी च्याम्पियनका प्रतिस्पर्धीसमेत रहेका विक्कीको  ‘कमेडी दरबार’ नै हुने देखिन्छ। 

मंसिर ३, २०८१ मंगलबार १६:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।