कार्यकर्तालाई सहकारी पीडितको आन्दोलनमा सहभागी हुन रास्वपाको आह्वान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार हुन लागेको सहकारी पीडितको आन्दोलनमा सहभागिताका लागि पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरेको छ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले बुधबार गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपाको ऐक्यबद्धता रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
झाले मंगलबार एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैर-दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नेपाली नागरिकहरूमा हार्दिक आग्रह गर्दछौं।’
सहकारी समस्या निराकरणतर्फ काम गर्न सरकारको ध्यानाकर्षण गराउँदै रास्वपाले राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान नहुने र पीडितले पनि आफ्नो बचत फिर्ता नपाउने दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरूलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’
मंसिर ४, २०८१ मंगलबार १५:०८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।