पक्राउ पर्नुअघि नै आत्तिएका थिए दुर्गा प्रसाईं
काठमाडौं : केही घन्टाअघि सामाजिक संजालमा आफू पक्राउ पर्न लागेको जानकारी दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार बिहान पक्राउ परे।
सीआईबीले उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको हो। प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोष्ट गरेका थिए।
‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।
उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए।
पक्राउ पर्नुअघि प्रसाईंले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्टाटस लेखेका छन्। स्टाटसमा उनी आत्तिएको देखिन्छ। उनले आफूलाई साइबर क्राइम, राजद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गर्नसक्ने भन्दै चनाखो रहन भनेका छन्।
स्टाटसमा भनिएको छ, ‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ। मलाई साइबर क्राइम, राजद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु। देशभक्त सम्पूर्ण नागरिकहरू, राष्ट्रवादी राजनीतिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकीकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरू हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन्।’
मंसिर ४, २०८१ मंगलबार १४:५४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।