नेपाल प्रिमियर लिगको ‘पावर्ड बाइ’ साझेदार बन्यो एनसेल,
काठमाण्डौं : ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) २०२४ लाई एनसेलले प्रायोजन गर्ने भएको छ।
मंसिर १५ गतेदेखि शुरू हुने यो टी-२० प्रतियोगितामा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध भएको हो।
एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले गत हप्ता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको बताइएको छ।
एनसेलका सीईओ जाब्बोर यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै एनपीएलसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे।
‘यसले नेपाली क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ,’ उनले भने, ‘यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो।’
सम्झौतासँगै एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपीएलका खेलहरू जुनसुकै स्थानबाट हेर्न सकिने सुविधा प्रदान गर्ने बताएको छ।
यसका साथै एनसेलले खेलमैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभर ग्राहकका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ।
६ पुससम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कूल ३२ खेल खेल्नेछन्। आठ टिमहरूले राउन्ड-रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन्।
क्रिकेट र खेलाडीहरूको विकासमा सहयोग गर्ने लक्ष्यका साथ एनपीएल आयोजना गर्न लागिएको भन्दै सचिव खड्काले यसलाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्येको एक बनाउन चाहेको बताए।
मंसिर ३, २०८१ मंगलबार १४:१०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।