भैरहवा राजश्व कार्यालयद्वारा ८९ फर्ममाथि अनुसन्धान

भैरहवा राजश्व कार्यालयद्वारा ८९ फर्ममाथि अनुसन्धान

बुटवल : आन्तरिक राजश्व कार्यालय भैरहवाले कर छली गर्ने ८९ फर्ममाथि अनुसन्धान जारी छ।

कार्यालयमा बुझाएको विवरणका आधारमा भ्याट र आयकर छली गर्ने ८९ फर्ममाथि अनुसन्धान गरिरहेको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलले जानकारी दिए।

कार्यालयले रुपन्देही र पश्चिम नवलपरासीका उक्त फर्ममाथि अनुसन्धान शुरू गरेको हो।

‘बस्तु तथा सेवा उपलब्ध नगराउने तर फर्म दर्ता गरेर कमिसनमा विलबिजक जारी गर्ने र राजस्वमा झुट्टा विवरण बुझाई कर छली गरेको आशंकामा छानविन सुरु भएको हो’, उनले भने।

अनुसन्धानको दायरमा आएका फार्महरूको प्रारम्भिक चरणमा हेर्दा कयौं फार्महरूबाट कमिसनका नाममा झुट्टा विलविजक जारी भएको देखिएको उनले बताए।

कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र पर्ने नवलपरासी र रुपन्देहीका फर्महरूमा अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान गरिरहेको हो।

‘हामीलाई शंका ल्याएका फर्महरू अनुसन्धानको दायरामा आएका छन्। उनीहरूले काटेका विलहरूमाथि शुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ। यदि कुनै पनि कैफियत भेटिएमा कानून अनुसार कारबाही गरिनेछ’, उनले भने।

कार्यालयले यसरी फार्मको नाम गोप्य राखेर अनुसन्धान गरिरहेपनि राजश्व छली गर्नेमा धेरै कवाडी व्यवसायी रहेको स्रोतले बताएको छ।

कार्यालयका अनुसन्धान अधिकृत धनिश्वर अर्यालले फार्मका कागजपत्र हेर्दै आवश्यक परेमा फार्म रहेकै स्थानमा पुगेर पनि अनुसन्धान भइरहेको बताए।

गत आर्थिक वर्षमा राजस्वले २९ वटा करदाताको ४३ वटा आय वर्षको अनुसन्धान गरेको थियो। यसबाट कर छली गरेको पाइएपछि ३ करोड ८० लाख मूल्य अभिवृद्धि कर र ३ करोड ५७ लाख आयकर निर्धारण गरिएको थियो।

चालु आर्थिक वर्षमा पनि कयौं करदाताको शंकास्पद कारोबार देखिएपछि अनुसन्धानलाई तीव्रता दिइएको हो।

रुपन्देही र पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएका जिल्ला भएकाले सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्ने र कर छली गर्ने बढिरहेका छन्। 

मंसिर ४, २०८१ मंगलबार १३:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।