देउवाको घरमा भाँडा माझेर राजनीतिमा आएको हैन : प्रदेश प्रमुख मगर

देउवाको घरमा भाँडा माझेर राजनीतिमा आएको हैन : प्रदेश प्रमुख मगर

बुटवल : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले देशको राजनीतिक प्रणाली सुधार गर्नुपर्ने बताएका छन्।

शुक्रबार अन्तर धार्मिक सद्भाव संघ नेपालले आयोजना गरेको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उनले संघीय प्रणाली मुलुकले थेग्नै नसक्ने भन्दै संघदेखि प्रदेशसम्म सांसदको संख्या घटाउनुपर्ने बताएका हुन्।

प्रमुख मगरले संघीय सांसद बढीमा १५० बनाउनुपर्ने र मन्त्री १५ जना मात्र बनाउनपर्ने सुझाए।

‘राष्ट्रपति, प्रधानमन्त्री भएपछि बढीमा १५ मन्त्री बनाउनुपर्छ। मलाई मन नपरेको उपप्रधानमन्त्री, राज्यमन्त्री र सहायक मन्त्री मलाई अमन छुट्ने पद हो’, उनले भने।

उनले ७७ जिल्ला नै आवश्यक नरहेको भन्दै नवलपरासी र रुकुमलाई टुक्रा पार्नुको औचित्य नभएको बरु यसले नेता धेरै जन्मिएर देशमा खर्च बढेको बताए।

उनले संघीयता कार्यान्वयन र राजनीतिप्रतिको वितृष्णा र मुलुकको आर्थिक समृद्धिका लागि संघीय सांसद, मन्त्री, प्रदेश र स्थानीय तहको संख्या पनि घटाउनु पर्ने बताए।

‘पूर्वबाट कोशी र मधेशको सेन्टरमा एउटा राजधानी राख्ने, बाग्मती र गण्डकीको चितवनमा राखिदिने। लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको बाँके कोहलपुरमा राखे हुन्छ। तीन जना प्रदेश प्रमुख भए भयो’, उनले भने।

प्रदेशको उच्च तहमा रहेका मगरले राजनीतिक अभिव्यक्ति समेत दिए। उनले आफू कांग्रेस सभापति शेरबहादुर देउवाको आर्शिवादले राजनीतिमा नआएको बताए।

उनले भने, ‘झुक्किएर कसैको गुलामी गरेर अथवा सिधा भन्दा कांग्रेस विचार बोकेर शेरबहादुर दाइकोमा गएर दाउरा बोकेर, भात पकाएर वा भाडा माझेर राजनितीमा आएको होइन। पुर्खादेखि नै कफन बाँधेर पञ्चयातविरुद्ध लागेर राजनीतिमा लागेको हुँ।’

प्रदेश प्रमुख मगरले राष्ट्रिय सभामा जानेहरू ‘तलुवा’ चाटेर गएको र त्यहाँ गएपछि पनि उनीहरूको रुने क्रम नरोकिएको बताए।

‘यहाँ राष्टिय सभा अध्यक्ष हुन्छन्। अरु देशमा नपर्ला नेपालको सन्दर्भमा रोईरोई, टिठ लाग्दो गरेर तलुवा चाटेर राष्ट्रिय सभामा जान्छन्। विचरा कृष्ण प्रसाद सिटौला अहिलेसम्म पनि उनको आशु ओभाएको छैन। देखिने आँशु नहोला। भित्र भित्रै त रोएका छन् नि!’, उनले थपे।

संविधान निर्माणको क्रममा कांग्रेस सभापति देउवाले बारम्बार संविधान सभा सदस्य बनाउन खोज्दा समेत आफू नबनी बसेको उनले स्मरण गरे।

‘६०१ जनामा त्यो पद नखाने मुर्ख म हुँ। तीन चोटी भनेर शेर बहादुर यो मुर्खलाई केही भने पनि मान्दैन भने। मलाई खाना प्रसस्त पुग्छ, भत्ता चाहिदैन भनेर त्यो बेला म संविधासभा सदस्य हुन गइनँ’, उनले भने।

उनले आफु मगरहरुको प्रतिनिधत्व गरेर संविधान निर्माण गर्न गएपनि मगरहरुको अनुकुल बनाउने संविधान बनाउन सक्ने आफ्नो हैसिएयत नभएको र आफ्नो बोली लाग्दैन भनेर नगएको बताए।

साथै उनले संविधान सभा सदस्यको संख्या ६०१ नेपालको लागि सेता हात्ती बराबर रहेको बताए।

उनले थपे, ‘नेपाल अधोगतिमा गएको त्यसै दिनबाट हो जस्तो लाग्छ। कतिपय त्यो बेला पाडो चराउनेहरू प्राडो चढ्ने भए। हामीलाई थाहा छैन। राम्रोसँग बाह्रखरी नजान्नेले संविधान बनाउँछ? त्यो जात्रा हामीले देख्यौ नि!’

लुम्बिनीको प्रदेश प्रमुखको रुपमा आफूले समेत काम नपाएको भन्दै उनले दुईटा सचिवले के गर्ने भन्दै प्रश्न गरे।

‘लुम्बिनीमा एउटा सचिव हुनुहुन्छ। अहिले दुई वटा सचिव आउनुभएको छन्। बास्तवमा यहाँ मेरो काम छैन। त्यहाँ उहाँहरूको काम के होला? यो जात्रा होइन। बा मरेको पीर छैन। बा त बा हुन तरुलको नास भो भन्ने छ’, उनले भने।
 

मंसिर ४, २०८१ मंगलबार १३:१७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।