कम्बोडियामा ओलीको ३२ अर्ब लगानी रहेको आरोप लगाएपछि दुर्गा प्रसाईं पक्राउ
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार यस मामलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्नेछ। प्रसाईं अहिले सीआईबीको हिरासतमा छन्।
प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको प्रमाण भएको दाबी गरिएको एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको बताएका थिए।
प्रसाईंको फेसबूक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन्। प्रसाईंले भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाएका छन्।
मंसिर ४, २०८१ मंगलबार १२:५६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।