कर्नाटका यू१९ विरुद्ध १०५ रनमा अलआउट भयो नेपाल यू१९

कर्नाटका यू१९ विरुद्ध १०५ रनमा अलआउट भयो नेपाल यू१९

काठमाडौं : एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिज खेलिरहेको नेपाली टोलीले चौथो खेलमा १०५ रनमा अलआउट भएको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्न सक्यो।

नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन्।

रोशनले ४६ बलमा ६ चौका प्रहार गरेका थिए। रोशनले अन्त्यतिर संयमित ब्याटिङ गर्दा नेपालले १ सय रन पार गरेको थियो।

नेपालको स्कोर ६६ रन हुँदा क्रिजमा आएका रोशनले त्यसपछि एक्लै रनको बागडोर सम्हालेका थिए।

नेपालले सातौं ओभरमा आकाश त्रिपाठीलाई ७ रनमा गुमाएको थियो। इसा पुथिगेको बलमा बोल्ड हुँदा नेपालले ३५ रन जोडेको थियो।

त्यसपछि खुलेर खेल्न नसकेको टोलीले १७ औं ओभरमा कार्यवाहक कप्तान अर्जुन कुमाललाई गुमायो। ५ रनमा खेलिरहँदा अर्जुन पुल खेल्ने धुनमा स्क्वायर लेग पछाडी क्याच आउट भए।

लगत्तै २ ओभरपछि मयन आउट भएपछि नेपाल ५७-३ को स्थितिमा पुग्यो। मयनले ६१ बलको सामना गर्दै ४ चौका प्रहार गरे। त्यसपछि नेपालले लगातार अन्तरमा विकेट गुमायो।

मध्यम गतिका बलर अक्षथ प्रभाकरले आफ्नो ८ ओभरको स्पेलमा ५ विकेट लिँदै नेपाललाई धराशायी पारे। बायाँ हाते स्पिनर प्रणव अश्वथले पनि ३ विकेट लिँदै कसिलो बलिङ गरे। उनले लगतार १० ओभर फ्याँक्ने क्रममा ५ मेडनसहित १० रन मात्र खर्चिए।

मध्यक्रममा सन्तोष यादव ८ र नरेन भट्टले ३ रन जोड्दा उत्तम मगर, युनिश ठकुरी र युवराज खत्रीले खाता खोल्न सकेनन्। रोशनले एकतर्फबाट लगातार रन जोड्दा अन्यले विकेट जोगाउन सकेनन्। रञ्जित कुमारले १ रन जोड्दा विपिनले खाता खोल्न सकेनन्।

अक्षथको ५ र प्रणवको ३ विकेट सँगै इसा र मलातेशले कर्नाटकका लागि १-१ विकेट लिए। कर्नाटकले यो खेल जितेमा ५ खेलको सिरिज २-२ को बराबरीमा पुग्नेछ। अन्तिम खेल बिहीबार हुनेछ।

मंसिर ३, २०८१ मंगलबार १२:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।