एनपीएल टिम परिचय : शिखर धवन अनुबन्ध गर्दै सरप्राइज दिएको ‘कर्णाली’

एनपीएल टिम परिचय : शिखर धवन अनुबन्ध गर्दै सरप्राइज दिएको ‘कर्णाली’

काठमाडौं : नेपाली क्रिकेट क्षेत्रमा सर्वाधिक ठूलो इभेन्ट ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’को पहिलो संस्करण यही मंसिर १५ गतेदेखि शुरू हुँदैछ।

आठ वटा टिमले त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि तीन सातासम्म भिड्नेछन्। प्रतियोगिताका लागि टिमहरूले तयारी तीव्र पारिसकेका छन्।

अधिकांश टोलीले आफ्नो टिमका खेलाडीहरू साइन गरिसकेको छ भने केहीले गर्दैछन्। खेलको तालिका सार्वजनिक भएसँगै टिमले तयारीलाई थप तीव्रता दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) लिगको मुख्य प्रायोजक र ब्रोडकास्टर रिभिल गरिसकेको छ।

नेपाल क्रिकेट संघले ब्रोडकास्टरको रुपमा भारतको सबैभन्दा चर्चित च्यानल ‘स्टार स्पोर्ट्स’लाई नियुक्त गरेसँगै लिगको हाइप अझै बढेको छ। नेपाली क्रिकेटलाई पछ्याउने भारतीयहरूमा समेत यसको चर्चा छ।

लिग हुने दिन नजिकिँदै गर्दा त्रिवि क्रिकेट मैदानलाई पनि संघले स्तरोन्नत्ति गरिरहेको छ। अहिले त्यहाँ अस्थायी प्याराफिट बनाएर कुर्सी राख्ने काम भइरहेको छ।

यसै सन्दर्भमा नेपाल प्रिमियर लिगमा सहभागी आठ टोलीको बारेमा यहाँहरूमाझ जानकारी दिँदैछौँ। जसमध्ये आज हामी सबैभन्दा कम मूल्यमा किनिएको अर्थात ‘सस्तो’ टिम कर्णालीको बारेमा चर्चा गर्दैछौं।

नेपाल प्रिमियर लिग घोषणा भएसँगै फ्रेन्चाइजी टिम खरिदका लागि बोली लाग्यो। बोलीमा कर्णाली टिम सबैभन्दा कम मूल्यमा बिक्री भयो।

हिमालय बिल्डर्स एण्ड इन्जिनियरिङ्ग प्रालिले यो टिम एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गर्यो। यो टिमका मालिकहरूको रूपमा जनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरे बाहिर देखिएका छन्।

लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले आठ टिमका लागि मार्की खेलाडी घोषणा गर्यो। घोषणा गरिएका आठ मार्की खेलाडी छनोटको क्रममा टिम कर्णालीको हातमा सोमपाल कामीको नाम आयो।

नाम र मार्की खेलाडीको तय भएसँगै लगानीकर्ताले टिमले लोगो सार्वजनिक गरेर ब्रान्डिङको कामलाई अगाडि बढाउन थाल्यो। काठमाडौंका पोल–पोलमा अहिले कर्णाली याक्सको लोगो र मार्की खेलाडीको तस्बिर देख्न सकिन्छ।

खेलाडीको अक्सनमा पनि कर्णाली याक्स भाग्यशाली साबित भयो। निश्चित रकम पुगेपछि गोलाप्रथामा जाने भएकाले पनि टिमले आफूले चाहेका खेलाडीलाई टिममा अनुबन्ध गर्न पाएका थिएनन्। यद्यपि गोलाप्रथामा टिम कर्णाली भाग्यशाली बनेको अन्य टिमका सदस्यहरूले समेत बताए।

सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीले अक्सनबाट स्टार अलराउन्डर गुल्सन झासँगै देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीलाई अनुबन्ध गर्यो।

त्यसपछि विदेशी खेलाडीलाई अनुबन्धको तयारी गरेको कर्णालीले सबैलाई चकित बनाउँदै धेरैले नसोचेको भारतीय खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गर्यो। जसकारण पनि टिमको हाइप ह्वात्तै बढ्यो। राष्ट्रिय टोलीबाट सन्यास लिइसकेका धवनले खेल्न लागेको नेपाल प्रिमियर लिग भारतबाहिरको पहिलो लिग हो। सन्यासपछि उनले कुनै पनि लिग खेलेका थिएनन्।

धवनलाई टिममा अनुबन्ध गर्नुपूर्व कर्णालीले वेस्ट इन्डिजका चादविक एन्टोनिओ, किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको थियो।

आफ्नो मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको कर्णालीले हालै सुर्खेतमा ट्यालेन्ट हन्टसमेत गरेको छ। जसबाट नेपाल प्रिमियर लिग खेल्नका लागि एक जना खेलाडी टोलीमा समावेश हुनेछन्। ट्यालेन्ट हन्टबाट १५ जना खेलाडी सर्टलिस्ट भएका छन्।

यसका अलावा सामाजिक सञ्जालको कुरा गर्दा कर्णाली याक्सको फेसबुकमा ५४ हजार फलोअर्स छन्। इस्टाग्राममा आठ हजार दुई सय फलोअर्स रहेको टिमको एक्समा एक हजार र टिकटकमा २५ हजार पाँच सय फलोअर्स छ।

टिमले ‘फेस अफ कर्णाली’ भन्दै आफ्नो ब्रान्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ। यसले क्रिकेट र चलचित्र क्षेत्रको सम्बन्ध अझै विस्तार हुने टिमको विश्वास छ। टिमले आफ्नो जर्सी समेत निलो, पहेँलो र हल्का सेतो रङमा सार्वजनिक गरेको छ।

याक्सको एन्थेम गीतलाई पनि दर्शकहरूले अत्यधिक रुचाएका छन्। एन्थेममा भएको ‘सा...सा...’को बिटमा आङ जिरिङ्ग भएको प्रतिक्रिया फ्यानले याक्सको सामािजक सञ्जालमा दिएका छन्।

गीतले पाइरहेको चर्चाका बीच चर्चित भारतीय खेलाडी शिखर धवनलाई टिममा राखेपछि कर्णालीको हाइप झनै बढेको देखिन्छ।

मंसिर ३, २०८१ मंगलबार ०९:५२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।