कर्णालीका खाेला र नदीमा पाउनै छोडे माछा, मछुवारा भन्छन्- ‘डोजरले माछा खायो’
सुर्खेत : सात वर्षअघिसम्म लेकवेशी नगरपालिका-८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जिविका चलाउँथे। स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्थे उनी, जसले पाँच जनाको परिवार धानिएकै थियो।
तर, पछिल्ला सालहरूमा उनले माछा मार्नै छोडे। एक त उमेर पनि भयो भने अर्को भनेको आजकल खोलामा माछा पाउनै छाडिसके। दिनभर माछा मार्न गएपछि आधा किलो बनाउन पनि मुस्किल पर्छ अहिले उनलाई।
‘माछा मार्न थालेको त १४ वर्ष बढी भइसक्यो। सात वर्ष पहिलेसम्म दैनिक पाँच–सात किलो माछा मारिन्थ्यो,’ थापाले भने, ‘महिनामा १० हजार रुपैयाँ त कहिँ जान्थेन। अहिले त दिनभर खोलामा डुले पनि आधा किलो पनि मार्न सकिँदैन। पहिला गरिरहेको काम भएकोले रहर लागेपछि कहिलेकसो आउँछु।’
माछा नभेटिनुको मुख्य कारण खोलामा जथाभावी ढुंगा, बालुवा र गिट्टी निकाल्नु नै भएको उनी बताउँछन्।
‘पहिला खोलामा डोजर चल्थेनन्। अहिले त मान्छे नै हिँड्न पनि मुस्किल छ। अनि कहाँबाट माछा आउनु,’ उनले भने, ‘खोलामा माछा बस्ने ठाउँ छैन। गहिरा-गहिरा खाल्डा छन्। डोजरले माछा खायो।’
बराहताल गाउँपालिका-४ तरंगाका जुल्फे राजीको पुर्ख्यौली पेशा नै माछा मार्ने हो। उनीहरूका बजोदेखि बुवासम्मले आगनमै बगेको भेरीमा माछा मारेरै आफ्नो दैनिकी चलाए। तर, पछिल्लो समय माछा मारेर आफ्नो दैनिकी नचल्ने देखेपछि उनले पेशा नै छाडेका छन्।
‘घरमा जाल छ। तर, नदीमा माछा छैनन्। अनि कसरी यो पेशा गर्नेे,’ राजीले भने, ‘त्यसैले यो काम नै छोडिसकेका छौँ। बरु अरु काम गर्दा दैनिक आठ-नौ सय रुपैयाँ त कमाइन्छ।’
चाैकुने गाउँपालिका-१० का रतन राजी पनि पछिल्लो समय माछा मार्ने पेशा छाेडेर दैनिक ज्याला मजदुरी गर्छन्। आफ्नो पुर्ख्याैली पेशा छाेड्न रहर नभएर बाध्यता आइलागेकाे उनको भनाइ छ।
‘हाम्रा पुर्खाले माछा मारेरै हामीलाई हुर्काए। हामीले पनि त्याे पेशा नगरे आगामी पुस्तालाई इतिहास मात्रै हुनेछ,’ उनले भने,
‘नदीमा माछा छैनन्। अहिले त खान मन लागे पनि पाइँदैन। माछाबाट घरव्यवहार नचलेपछि दैनिक ज्याला मजदुरीमा लाग्न बाध्य भएँ।’
देवबहादुर, जुल्फे र रतन मात्रै होइन, कर्णाली प्रदेशमा माछा मारेरै जीविकोपार्जन गर्ने सिमान्तकृत राजी, माझी लगायतका समुदायहरुको दैनिकीमा प्रत्यक्ष प्रभाव परेको छ। माछा बिक्री गरेर जीविकोपार्जन गर्नेहरू थप गरिबीको चपेटामा परेका छन्।
पछिल्लो केही वर्षयता खोलामा माछा पाउन छाड्नुका प्रमुख कारणहरूमा प्राकृतिक तथा मानवजन्य दुवै पक्षको प्रभाव रहेको जलवायु विज्ञ नारायण बेलवासे बताउँछन्।
‘खासगरी अनियन्त्रित बालुवा, गिटी र ढुंगा उत्खननले खोलाको प्राकृतिक वातावरण बिग्रँदा माछाको आवास नष्ट भएको छ। त्यसले जलचर प्राणीहरूलाई हानी पुर्याएको छ,’ उनले भने, ‘त्यो सँगै खोला र नदीहरूमा पानीको बहावमा कमी, असामान्य वर्षा र तापक्रम वृद्धि भएका कारण माछाको प्रजनन र बाँच्नका लागि आवश्यक वातावरण बिथोलिएको छ।’
उनका अनुसार रासायनिक विष, विद्युतिय धराप, बम बिस्पोटन जस्ता सामग्रीको प्रयोग गर्दा माछा मात्र नभई अन्य जलचर पनि विनाश भएका छन्। औद्योगिक तथा फोहोरको प्रदूषणः खोलामा उद्योग तथा घरबाट फालिने फोहोरले पानी प्रदूषित हुँदा माछाको जीवनचक्रमा बाधा पुर्याएको उनले बताए।
त्यस्तै खोलामा ठूला ड्याम र जलविद्युत् आयोजनाले खोलाको बहाव रोक्दा माछाको बसाइँसराइ प्रक्रिया अवरुद्ध भएको उनको भनाइ छ। माछाको कमीले जैविक विविधताको चक्रमा असर पुर्याउँदा समुदायको समग्र जीवनशैलीलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको अर्का जलवायु विज्ञ नवराज पाेखरेल बताउँछन्।
खोलामा अनियन्त्रित उत्खनन तथा प्रदूषण नियन्त्रण, माछा संरक्षणका लागि प्रजनन क्षेत्र घोषणा, स्थानीय समुदायलाई जल स्रोत संरक्षणमा समावेशीकरण, वातावरणमैत्री वैकल्पिक आयस्रोतको प्रवर्द्धन जस्ता उपाय कार्यान्वयन गर्न सके माछा पुनःस्थापित हुने उनको सुझाव छ।
कर्णाली क्षेत्रका नदी र खोलाहरू जैविक विविधताले भरिपूर्ण छन्। कर्णालीका नदी र खाेलाहरुमा सह्राबे माछा, असला माछा, गडिया, सिद्धे, मगुर, चिप्रा र पाढे प्रजातिका माछा पाइन्छन्। अझ विश्वमा नपाइने सिजाेथ्राइप नामक असला माछा कर्णालीकाे रारा तालमा पाइन्छ।
तर, जलवायु परिवर्तन, विनाससहितकाे विकास, बाढी, र अवैज्ञानिक माछा मार्ने क्रियाकलापका कारण केही प्रजाति संकटमा परेका छन्। जलचर संरक्षण ऐन २०१७ काे पहिलाे संशोधन २०७५ ले पनि जलचर प्राणीको संरक्षणका लागि धेरै विषय समेटेकाे छ।
त्यस्तै कतिपय प्रदेश र पालिकाले समेत ऐन बनाएका छन्। तर, ऐन कार्यान्वयनकाे पाटाे फितलो हुँदा जलचर प्राणी संकटमा परेका छन्।
मंसिर ३, २०८१ मंगलबार ०८:३४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।