चिच्याएर बर माग्ने सत्यवती मेलामा भक्तजनले चढाए ३२ लाख भेटी र १० लाल सुन

चिच्याएर बर माग्ने सत्यवती मेलामा भक्तजनले चढाए ३२ लाख भेटी र १० लाल सुन

बुटवल : पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रूपैयाँ भेटी संकलन भएको छ। नगदसँगै करिब १० लाल सुनसमेत संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले यसपालि जोग परेका कारण अनुमान गरे भन्दा धेरै भक्तजनहरू आएको बताउँदै उनले व्यवस्थापन गर्न केही समस्या भएको बताए। उनका अनुसार २ लाख भक्तजन आउँछन् भनेर अनुमान गरेकोमा ३ लाख बढी भक्तजन आएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको थियो।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास छ। यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौं भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन्।


बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ। ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ। 

मंसिर ३, २०८१ सोमबार २१:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।