खाना पकाउने क्रममा एलपी ग्याँस लिक हुँदा आगोले पोलेर महिलाको मृत्यु

खाना पकाउने क्रममा एलपी ग्याँस लिक हुँदा आगोले पोलेर महिलाको मृत्यु

सर्लाही : खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। 

ईश्वरपुर नगरपालिका-६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो। खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन्। 

गत कात्तिक २५ को बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो। 

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई कीर्तिपुर पुर्याए पनि अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए। पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

मंसिर ३, २०८१ सोमबार २०:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।