कमेडी शोको नाम बदल्न बाध्य भए विशाल, सिधा टक्कर विक्की अग्रवालसँग

कमेडी शोको नाम बदल्न बाध्य भए विशाल, सिधा टक्कर विक्की अग्रवालसँग

काठमाडौँ : कमेडी शो निर्माण गरेर चर्चामा आएका विशाल भण्डारीले लोकप्रिय भइसकेको ब्रान्डको नामै बदलेका छन्। उनले यस अगाडि कमेडी क्लब विथ च्याम्पियनको नाममा कार्यक्रम निर्माण गर्दै आएका थिए। यस पटक नाम बदलेर उनले ‘कमेडी नाइट विथ च्याम्पियन’ राखेका छन्।

उनले कमेडी क्लब विथ च्याम्पियन केही समय बन्द गरेर कमेडी च्याम्पियन कार्यक्रम सुरु गरेपछि कि एड्भर्टाइजिङले नाममा टु पोइन्ट जिरो थपेर कार्यक्रमलाई निरन्तरता दिएको थियो। त्यसपछि विशाल आफैँले स्थापित गरेको नाम बदल्न बाध्य भए।

सोमबार शोको औपचारिक घोषणा कार्यक्रममा प्रस्तुतकर्ता थ्री प्रडक्सन रहेको छ भने टिममा निर्देशक भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेत देखिए।

उनले नाम मात्र हैन प्रसारण हुने टेलिभिजन पनि बदलेका छन्। पहिला नेपाल टेलिभिजनमा प्रसारण हुने गरेकोमा यस पटक हिमालयन टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ। डिजिटल पाट्नर भने बदलिएको छैन, पुरानै ओएसआर नै रहेको छ।

कार्यक्रम घोषणा कार्यक्रममा उनले कार्यक्रम नयाँ सेटअप र संरचनामा आउने बताए। पत्रकार सम्मेलनमा कलाकारहरू र प्रसारण हुने टेलिभिजनको नाम सार्वजनिक गरे पनि प्रसारण हुने मिति भने सार्वजनिक गरिएन।

को-को छन् कलाकार ?

कार्यक्रममा कमेडी शोमा संलग्न कलाकारहरूको नाम समेत सार्वजनिक गरिएको थियो। कलाकारहरू अधिकांश पुरानै छन्। भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइराला निरन्तर छन्। नयाँ कलाकारको रूपमा प्रभात लामा जोडिएका छन्।

कार्यक्रमको अध्यक्षमा दीपाश्री निरौलाले नै निरन्तरता पाएकी छिन्। शोको लेखकका रूपमा सन्तोष खनाल, सन्देश देवकोटा, रजनीश अर्याल लगायत छन्। भण्डारीका अनुसार अबको कार्यक्रम डेढ घण्टाको हुनेछ।

साख फर्काउन सहज छैन टिमलाई

टेलिभिजनमा आधारित कमेडी कार्यक्रममा जितु नेपालदेखि माग्ने बुढासम्मले प्रयास गरेका थिए। जितु केही हदसम्म सफल भए पनि उनको शो अहिले बन्द छ। माग्ने बुढाले कार्यक्रमलाई अगाडि बढाउन सकेनन् र बन्द गरे।

त्यसमा भण्डारीको समूह मज्जाले जमेको थियो। यही समूहले कमेडीमा आधारित रियालिटी शो कमेडी च्याम्पियन समेत निर्माण गर्दै आएको छ। कार्यक्रम लोकप्रियताको पिकमा रहेको बेलामा भण्डारीले कमेडी शो बन्द गरेर रियालिटी शोतिर लागे।

यो बिचमा उनको पुरानो कार्यक्रम कि एड्भर्टाइजिङले चलाउने प्रयास गर्यो तर फ्लप भयो। टेलिभिजनमा कमेडी शो शून्य भएको मौका छोपेर विक्की अग्रवालले रोस्ट शो बन्द गरेर कमेडी दरबारको नाममा कमेडी शोको निर्माण गरे।

प्राइम टिभीबाट प्रसारण भइरहेको कार्यक्रममा भण्डारीको टिमका सदस्य गएनन्। तर जति कलाकारहरू छन् उनीहरूको प्रस्तुतिले कार्यक्रम लोकप्रिय भइसकेको छ। यो बेलामा भण्डारीको कार्यक्रम आउँदा आफ्नै रियालिटी शोको उत्पादक विक्कीसँग सिधै टक्कर हुने पक्का छ।

मंसिर २, २०८१ सोमबार २०:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।