भाइसँग पैसा सापट लिएर व्यापार थालेका मनोज भन्छन् 'पसल नचले गाउँ गएर खेती गर्छु तर, विदेश जान्नँ'
३३ वर्षअघि, सिन्धुलीमा जन्मिएका मनोज दाहाल अहिले ललितपुरको लखनखेलमा महिलाहरूको लागि जुत्ता, चप्पलको पसल चलाएर बसिरहेका छन्। दशैं, तिहारजस्ता चाडबाडमा मारामार व्यापार गरेका उनको व्यापार चाडबाडपछि भने खस्कियो।
‘कोभिडअघि व्यापार सामान्य दिनमा पनि राम्रो कमाई हुन्थ्यो। तर, अहिले चाडबाडको बेलामा मात्रै व्यापार हुन्छ। चाडबाडमा पनि अहिले त निकै कम व्यापार हुन थालेको छ। खै के भएको हो कुन्नि!’ उनी अचम्मित हुँदै उत्तर दिन्छन्।
सामान्य परिवारमा जन्मिएका मनोजले एसएलसी सिन्धुलीकै सरकारी स्कुलबाट गरे। उच्च शिक्षाको लागि भने काठमाडौंलाई छाने। प्लसटुसम्म त जसोतसो परिवारले नै पढाए तर, जब ब्याचलर पढ्ने बेला भयो अनि उनले आफैं काम खोज्न थाले।
‘गाउँमै एसएलसीसम्म गरेपछि ११/१२ काठमाडौं आएर पढे। बुवा काठमाडौंमै काम गर्नुहुन्थ्यो। ११/१२ पढ्दा नै बुवालाई अलि चाप पर्न थालेको थियो। तरपनि ११/१२ चाहिँ जेनतेन पढें। अनि ब्याचलर चाहिँ काम गर्दै पढेको,’ उनले भने।
उनको परिवारको मुख्य पेशा भनेकै खोतीपाती थियो। त्यसबाहेक उनका बुवाले घर बनाउने ठाउँमा ज्याला मजदुरी गरेर २ छोरा, १ छोरीलाई पढाए थिए।
त्यहीक्रममा बुवाले काठमाडौंमै घर बनाउने काम गरेर मनोजसहित छोराछोरीलाई पढाइरहेको थिए। तर, एकदिन कामकै सिलसिलामा उनको खुट्टा दुख्ने समस्या आयो। बुवाको त्यस्तो समस्या आएपछि घरको जेठो छोरा भएकाले सबै जिम्मेवारी मनोजले लिनुपर्याे।
‘काठमाडौं आएर बसेको २ बर्ष भएको थियो। एकदिन बुवाको खुट्टाको कुर्कुच्चा दुख्यो भन्नु भयो। त्यसपछि बुवालाई गाउँ जान भनें। अनि त्यसपछि परिवारको जिम्मा मलाई आयो,’ मनोजले सुनाए।
कामसँगै पढाई
गाउँमा मनोजको पढाई राम्रो थियो। स्कुलमा पनि उनी अब्बल विद्यार्थीकै रूपमा चिनिन्थे। २०६४ सालमा प्लस्टु गर्न काठमाडौं आएका मनोजको पढाइसँगै काम गर्नुपर्ने अवस्था आयो।
‘त्यसपछि २०६७ सालदेखि काम गरेको हो। सुरूको काम चाहिँ खानेपानीको पाइप बिछ्याउने थियो, महालक्ष्मीस्थानमा। त्यहाँ मलाई सामानको रेखदेख गर्ने काम पाएको थिए,’ उनले भने।
सुरूको काममा उनको तलब थियो, ७ हजार रूपैयाँ। यति पैसाले काठमाडौंमा टिक्न त सकिन्थ्यो तर, पढाइलाई पनि निरन्तरता दिनुपर्ने बाध्यता परिपूर्ति गर्न गाह्रो थियो।
१० बजे काममा गयो, ५ बजे आयो। यसले गर्दा उनको पढाइमा केही समस्या भयो अनि काम छोडिदिए। त्यसपछि च्यासलमा रहेको समिशान्ती क्याम्पसमा बीबीएसमा भर्ना भए मनोज।
काठमाडौंमा धान्नलाई एउटा काम त गर्नुपर्ने नै थियो। त्यसैले कामको खोजीमा लागे। पछि काम पाए, जुत्ता पसलमा। जसले गर्दा उनले अहिले खोलेको जुत्ता, चप्पल व्यापारमा ल्याउन थप सहज भएको हो। जुत्ता, चप्पल पसलमा भने उनले आफू अनुकूल समय पाए। त्यसबेला त्यहाँ काम गर्दा उनको तलब थियो ९ हजार रूपैयाँ।
उनी भन्छन्, ‘अलि महिना काम गरेपछि पढाई र काम भएर मैले खानेपानीको काम छोडिदिए। त्यसपछि चाहिँ जुत्ता पसलमा काम गरेको। पसलमा भए ढिलो जाँदा पनि भयो। त्यतिबेला म ब्याचलर पढ्दै थिएँ। पसलमा काम गर्दा अरूलाई यसो सघाउने काम आउँथ्यो। पसलमा काम पाएपछि पढ्न र काम गर्न दुवै सहज भयो।’
बीबीएसको पढाई सकेपछि भने उनी पाटन बहुमुखी क्याम्पसमा मास्टर्सको लागि पढ्न गएका थिए। तर, ब्याचलर पढ्दा नै आफैंले पसल खोलेकाले पढाइलाई समय दिन नसकेको उनी बताउँछन्।
‘आर्थिक अवस्था राम्रो थिएन नै, बुवा घर गइसक्नुभएको थियो। यताको खर्च मैले नै हेर्नुपर्ने भयो। आफैंले पसल पनि सञ्चालन गरेको थिएँ। पढाईलाई समय दिन सकिन अनि पढाई छोडिदिएँ,’ उनले सुनाए।
आज उनलाई पढाइलाई निरन्तरता दिएको भए, यो भन्दा राम्रो जागिर पो गरिन्थ्यो कि, भन्ने लाग्ने रहेछ।
‘पढ्ने समय भएन। कहिलेकाहीं अझै पढेको भए, अझै राम्रो जागिर नै हुन्थ्यो पनि होला वा अरू कुनै राम्रो ठाउँमा गइन्थ्यो पनि होला। तर, यो भन्दा फरक फिल्डमा भइन्थ्यो पनि होला। जे होस ट्र्याक चेन्ज हुन्थ्यो,’ उनले भने।
‘भाइको पैसाले पसल खोले’
भुकम्पको १ महिनापछि मनोजले अहिलेकै ठाउँमा पसल खोले। जुत्ता, चप्पल पसलको अनुभव उनले अरूकै पसलमा काम गरेर लिइसकेका थिए। अब आफैंले पसल खोल्नुपर्छ भन्ने लागेर २०७२ जेठमा पसल खोले।
सुरूमा त पसल खोल्दा मनोजसँग पैसा थिएन। अनि उनले आफ्नै भाइसँग ८० हजार मागेपछि बाँकी पैसा दाइ पर्नेसँग डेढ लाख मागेर जम्मा २ लाख ३० हजारमा पसल सुरू गरे। अहिले भने त्यही पसलमा ५ लाखको सामान छ भने बाँकी केही रकम बजारमा राखेको उनले बताए।
‘मैले पसल खोल्दा मसँग पैसा थिएन। मेरो भाइसँग ८० हजार थियो। उसले रिचार्ज कार्ड बेच्ने काम गर्थ्यो। जोहो गरेर राखेको रहेछ,’ उनी भन्छन्, ‘अनि त्यो पैसा मलाई दियो भाइले, बाँकी पैसा एउटा दाइसँग मागें। त्यो दाइसँग डेढ लाख मागें। जम्मा यो पसल सुरूमा २ लाख ३० हजारमा खोलेको। अहिले ५ लाख जतिको सामान होला,’ उनले भने।
पछि आफूले ती दुवै जनाको सापटी रकम ५ हजार, १० हजार गर्दै तिरेको उनले सुनाउँछन्। यसरी दुख गरेर व्यापारमा हात हालेका मनोजलाई भुकम्प र कोभिडमा भन्दा अहिले व्यापारमा मन्दीको अवस्था आएको छ। पछिल्लो समय, मानिसहरू विदेश पलायन भएको र जनसंख्या वृद्धिमा पनि कम भएकोले पो व्यापारमा मन्दी भएको हो कि, भन्ने उनको तर्क छ।
‘व्यापार पहिलाको हेरिकन अहिले निकै खस्केको छ। भुकम्प, कोभिड भन्दा पनि अहिले निकै खस्केको हो। पछिल्लो समय जो पनि मान्छे विदेश जाने देखेको छु। आर्थिक मन्दीको कारणले पनि व्यापार खस्केको जस्तो लाग्छ। विदेश जाने मात्रै भयो, जनसंख्या पनि घटेको समाचार आउँछ। त्यही भएर पनि व्यापारमा मन्दीको अवस्था आएको पो हो कि!’ उनलाई लाग्छ।
पछिल्लो समय विदेशीने युवाको जमात मनोजले नदेखेका होइनन्। उनलाई पनि ब्याचलर पढ्दै गर्दा साथीले विदेश जाउँ भनेका थिए। तर, उनलाई घरको आर्थिक अवस्थाले रोक्यो।
‘घरपरिवार छोडेर जान मन लागेन, हुन त उति बेला पैसा भएको भए विदेश पनि जान्थे होला। साथीले जाउँ भन्दै थियो। अहिले उ जापान गएको छ,’ उनले सम्झिए।
अहिलेसम्म मनोजको व्यापारमा अल्पकालीन मन्दी आएको खण्डमा पनि विदेशीने सोच आएन। बरू उनलाई कोभिड, भुकम्पको बेला गाउँमै गएर खेती गर्ने सोच आउने गरेको छ।
‘कति जनाले व्यापार भएन भनेर विदेशीएका छन्। तर, मलाई अहिलेसम्म त्यस्तो सोच आएको छैन। बरू कोभिड, भुकम्प जस्तो सीमित अवधि आएको खण्डमा गाउँमै गएर खेती गर्छु। कोभिडको बेला पनि त्यही गरेको हुँ,’ उनी भन्छन्, ‘हामी पैसा खेलाइरहेकोलाई गाउँमा अलि समस्या हुने रहेछ। तरपनि विदेश नै जाने योजना चाहिँ अहिलेसम्म छैन।’
मंसिर ३, २०८१ सोमबार १९:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।