‘ह्रस्व दीर्घ’को मिश्रित प्रतिक्रियापछि निर्मातालाई प्रचारमा सघाउन नेपाल आए ‘गजनी’का भिलेन प्रदीप रावत, नेपालगन्ज पनि जाने
काठमाडौँ : निर्माताहरूको अनुभव सुन्ने हो भने आफ्नो अभिनय रहेको फिल्मको प्रमोसनमा हिँडाउन पनि गाह्रो हुन्छ नेपाली कलाकारहरूलाई। कति निर्माताहरुले त सार्वजनिक रूपमै फिल्मको काम सकिएपछि कलाकारले प्रमोसनको समयमा धोका दिएको भन्दै धुरुधुरु रोएका पनि छन्।
काठमाडौँमा नै हुँदा पनि चित्राकी एक अभिनेत्री मेनुका प्रधानले फिल्म प्रमोसनका लागि वास्ता नगरेको भन्दै निर्माताले चित्त दुखाएका थिए। अर्को फिल्ममा व्यस्त छु,आउँछु भन्दै उनले टारेको आरोप लागेको थियो।
अहिले नेपाली फिल्मको सबै रेकर्ड तोड्नेतिर लम्किएको पूर्ण बहादुरको सारङ्गीको प्रमोसनमा प्रकाश सपुत देखिएनन्। जब फिल्मले हलमा पिकअप लिन थाल्यो अनि लौ क्रेडिट नआउने भो भनेर युट्युवर बोकेर हल धाउन थालेका थिए उनले। यस्ता उदाहरण टन्नै छन्।
शुक्रवार रिलिज भएको फिल्म ‘ह्रस्व दीर्घ’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको बेलामा बाध्यता नभए पनि दक्षिण भारतीय अभिनेता प्रदीप रावत फिल्म निर्माण टिमलाई साथ दिन नेपाल आइपुगे।
आइतबार श्रीमती कल्याणी सहित नेपाल आएका उनी फिल्मको निर्माण टिमसँगै हलहरूमा गएर दर्शकहरूसँग भेटिरहेका छन्। फिल्ममा उनी निताको बाबु महामहन्तको भुमिकामा छन्।
उनी नेपाल आउने बित्तिकै हल भिजिटमा निस्किए। अभिनेता हरिहर अधिकारी र निता ढुङ्गानाको टिमसँग उनी सिटी सेन्टरमा रहेको बिग मुभिज् पुगे
साँझ ८ बजे रावत सहितको टिम बिग मुभिज् पुगेको निर्माण पक्षले जानकारी दिएको छ। उनले श्रीमती तथा अभिनेत्री समेत रहेकी कल्याणीलाई आफ्नो पहिलो नेपाली फिल्म हेराउन सँगै नेपाल ल्याएका छन्।
गजनीमा निभाएको खल पात्रबाट चर्चामा आएका उनी काठमाडौँमा मात्रै हैन, भारतीय फिल्मको राम्रै क्रेज हुने नेपालगन्ज समेत जाँदैछन्। शुक्रवारबाट हलमा लागेको फिल्मको प्रमोसनमा अभिनेता तथा निर्माता हरिहर,अभिनेत्री निता,गरिमा शर्मा लगायतका कलाकार दौडधुपमा रहेको बेलामा उनको नेपाल आगमनले फिल्म निर्माण टिमले राहत पाउन सक्छ।
चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्मले शुक्रवार र शनिवार देशव्यापी रूपमा २ करोडको ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेको छ। फिल्मको लगानी उठ्न कमसेकम पनि २० करोड ग्रस कलेक्सन आवश्यक पर्छ।
अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अलि, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरूले अभिनय गरेका छन्।
नेपाली कलाकारहरूमा बिपना थापा, निता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र,लक्ष्मी पौडेल लगायतको अभिनय छ।
मंसिर २, २०८१ सोमबार १७:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।