आर्थिक लेनदेनमा झाँक्री भुजेल र मृतक परिवारबीच सहमति, अनुसन्धान गर्दैछ प्रहरी
काठमाडौं : झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको घटनापछि झाँक्री र मृत्यु भएका दम्पतीको परिवारबीच सहमति भएको छ।
आफूले चलाएको सवारीबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका झाँक्री प्रकाश भुजेलसँग उक्त परिवारले आर्थिक लेनदेनमा सहमति गरेको हो। तर, आर्थिक रकम भने खुलाइएको छैन।
कार्तिक २८ मा भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर -९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसक्रममा घाइते भएका मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका-२ घर भएका नारायण नगरकोटीले मृत्यु भएको थियो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते थिइन्। उपचारको क्रममा उनको पनि ग्राण्डी अस्पतालमा मृत्यु भइसकेको छ।
त्यसपछि अनुसन्धानमै रहेका झाँक्री र मृतक परिवार पक्षकोबीचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
उनले भने, ‘अस्पतालबाट शव लगेर दाहसंस्कार गर्न दुवै पक्ष सहमत भएका छन्, आर्थिक विषयमा हामीलाई जानकारी भएन।’
दुर्घटनापछि झाँक्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
मंसिर ३, २०८१ सोमबार १६:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।