निर्यात व्यापार बढाउने रणनीतिमा सहकार्य गर्न ढकालको आग्रह
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरे।
अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको उनले बताए।
महासङ्घले सोमवार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको बताए।
नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको भन्दै उनले स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने सुझाव दिए।
अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको बताए।
लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना गरिएको उनले बताए।
अध्यक्ष ढकाल सहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले सोमबार केन्द्रको उद्घाटन गरेका थिए।
मंसिर २, २०८१ सोमबार १६:१४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।