आफ्नै लगानीमा प्रशिक्षण गर्दै पारा खेलाडी, सरकार भन्छ- ‘यो वर्ष बजेट छैन’
सुर्खेत : मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद अनिश्चित भएको छ।
खेलका लागि भनेर आठ खेलका १ सय ५० जना खेलाडीले बन्द प्रशिक्षण लिइसकेका छन्। राष्ट्रिय खेलमा नेपाल पारा ओलम्पिक खेल समावेश गरेर कर्णालीमा पहिलो पटक अपांगता भएका खेलाडीहरू सहभागी हुँदैछन्।
ह्विल चियर बास्केट बल, यथलेटिक्स, टेबुल टेनिस, पौडी, सुटिङ, क्रिकेट, ह्विलचियर म्याराथुन लगायतका १० वटा खेलहरू तय गरिएको छ। तर, त्यसका लागि पारा खेलाडीहरुलाई सरकारले सहयोग नगर्दा उनीहरु आफ्नै व्यक्तिगत खर्चमा प्रशिक्षण लिइरहेका छन्।
सरकारले अन्य खेलाडीलाई खर्च गरे पनि पारा खेलाडी (स्पाइनल कर्ड इन्जुरी अपाङ्गता) भएका खेलाडीहरूलाई उपेक्षा गरेको नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशका अध्यक्ष किरण किशोर सापकोटाले बताए।
‘पारा र राष्ट्रिय खेलकुदको हैसियत समान हो। तर हामीलाई प्रदेश र संघ सरकारले उपेक्षा गर्यो,’ अध्यक्ष सापकोटाले भने, ‘अरु खेलाडीलाई तलब भत्ता र तालिम सबै सरकारले गरेको छ। तर, हामी आफ्नै खर्चले अहिले प्रशिक्षण लिइरहेका छौँ।’
विभिन्न खेलकुद प्रतियोगितामा भाग लिन जाँदा पनि व्यक्तिगत खर्चमा नै जाने गरेको उनले बताए।
‘सरकारले समान व्यवहार गरिदिए कर्णालीलाई चिनाउन हामी सक्षम छौँ। यसभन्दा पहिले पारा पावर लिफ्टिङ्गमा एक पटक प्रथम र अर्कोपटक दोस्रो भएको हुँ,’ उनले भने, ‘हामी विगत तीन वर्षदेखि प्रदेश सरकारसँग हारगुहार गरिरहेका छौँ। तर, कुनै सुनुवाई नै हुँदैन।’
मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरू घर परिवार, समाज र राज्यबाट नै बढी विभेदमा परिरहेकोले उनीहरूलाई खेलको माध्यमबाट बाहिर ल्याउन आवश्यक देखिएको उनको भनाइ छ।
वीरेन्द्रनगरको लाटीकोइलीमा रहेको निजी स्कुल भ्याली म्यारिडियम एकेडमीले अपाङ्गता भएका खेलाडीहरूको लागि प्रशिक्षण मैदान उपलब्ध गराएको छ।
एक वर्षदेखि १४ जना खेलाडीहरू हरेक शनिबार प्रशिक्षण लिन्छन्। प्रशिक्षणका लागि प्रशिक्षक नभएपनि सहभागीहरुले नै एकआपसमा अभ्यास गरिरहेको बास्केट बलका टिम क्याप्टेन धर्मराज रावलले बताए।
‘अहिले हामीसँग न प्रशिक्षक छ, न त गतिला ह्विलचेयर। खेल खेल्दा ह्विलचेयर टुट्छन्, फुट्छन्,’ उनले भने, ‘ अन्य खेलकुद सामग्री पनि आवश्यक छन्। तर, यहाँ त हामी आफैँले जसोतसो जोडजम्मा गरेर खेलिरहेका छौँ।’
अपांगता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि सरकारबाट आवश्यक सहयोग नभएको नेपाल पारा ओलम्पिक कमिटी कर्णालीका सल्लाहकार किशोर शाहीले बताए।
‘अपांगता भएका खेलाडीले पनि देशलाई मेडल दिएको इतिहास छ। तर, हाम्रोमा त अपांगता भएकाले केही गर्न सक्दैनन् भन्ने धारणा छ,’ उनले भने, ‘त्यसलाई चिर्न खेलाडीहरु उत्पादन गरिरहेका छौँ। हामी अब सरकारलाई देखाउने छौं कि अपांगता भएका व्यक्तिले पनि केही गर्न सक्छन भन्ने।’
अभ्यासका लागि मैदानको अभाव र ह्विल चियर खरिद गर्न प्रदेश र संघ सरकारबाट सहयोग नभएकोले अब आफुहरु आन्दालेनको तयारीमा रहेको उनले बताए।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वमित्र सञ्ज्यालले बजेट अभावका कारण पारा ओलम्पिक खेलाडीहरुलाई सहयोग गर्न नसकिएको बताए।
‘गत वर्ष त उहाँहरूका लागि बजेट थियो। त्यसले केही गतिविधि पनि गरियो। तर, यो वर्ष बजेट छैन,’ सदस्यसचिव सञ्ज्यालले भने, ‘बजेट माग गरेका थियौँ। त्यो पनि खेलकुदको मिति फिक्स नहुँदा पैसा आएको छैन।’
मंसिर २, २०८१ सोमबार ११:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।