तीन महिनादेखि विषादी परीक्षण बन्द
चितवन : भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ।
मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो। कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो।
दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए। मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिँदै आइएको थियो।
२०७६ असोज ७ गते स्थापना गरिएको प्रयोगशालामा त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिँदै आइएको थियो। परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो।
कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौं पठाइएको र हप्ता-दश दिनमा आउने छ।
मंसिर २, २०८१ सोमबार ११:४१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।