पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
काठमाडौं: पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय शोक’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
‘पूर्वसभामुख ढुंगानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने, ‘राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ।’
उनको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो।
ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन्।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुंगानाका परिवार स्रोतले जानकारी दियो।
मंसिर ३, २०८१ सोमबार १०:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।