हिरोपथ छाडेर भिलेनको बाटोतिर लागे मुकुन, भिड्दैछन् विपिनसँग

हिरोपथ छाडेर भिलेनको बाटोतिर लागे मुकुन, भिड्दैछन् विपिनसँग

काठमाडौँ : कुनै समय अभिनेता दिनेश शर्माले फिल्ममा पोजेटिभ रोल खेल्थे। उनलाई दर्शकले हिरोको रूपमा लिन्थेँ। बिस्तारै उनी नेगेटिभ भूमिकामा काम गर्न थाले। नयाँ कलाकारहरूको आगमनपछि उनको त्यो भाग पनि खोसियो। अनि अमेरिका पलायन भए।

धिरेन शाक्यको पनि यस्तै हालत छ। उनी हिरो हुँदै नेगेटिभ रोलमा गए र अभिनयबाट बाहिरिए। यतिबेला उनी फिल्म तथा म्युजिक भिडियोको लाइटका सामान भाडामा दिने व्यापारमा छन्।

अब हिरो हुँदै भिलेनको भूमिकामा आउने पालो मुकुन भुसालको। फिल्म ‘बुलबुल’,‘गणपति’,‘उपहार’लगायत पछिल्लो समय प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गरेका मुकुन अब नेगेटिभ भूमिकामा देखिने भएका छन् सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘कर्मा’बाट।

यो फिल्ममा विपिन कार्की र उपासना सिंह ठकुरी अनुबन्धित भइसकेका छन्। यही फिल्मबाट विपिन र उपासनाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्।

यसअघि निर्देशक चौधरीले एक्सन फिल्म ‘अगस्त्य’को निर्देशन गरेका थिए। उनको यो फिल्म ठिकठिकै चलेको थियो।

कर्मा पनि एक्सन जनराको भएकाले विपिनले आठ किलो तौल बढाउने जिम धाइरहेका छन्। मंसिरको दोस्रो सातापछि छायाङ्कनमा जाने भनिएको फिल्मको छायाङ्कन दाङ र रुकुममा हुनेछ। 

मंसिर २, २०८१ सोमबार ००:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।