सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट छान्यो आइकोनिक खेलाडी तर नाम गोप्य

सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट छान्यो आइकोनिक खेलाडी तर नाम गोप्य

काठमाडौँ : नेपाल प्रिमियर लिग फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेर एक जना आइकोनिक खेलाडी छानेको छ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा भएको ट्यालेन्ट हन्टमा सहभागीहरूमध्येबाट एक जना छानेको हो। नेपाल क्रिकेट सङ्घ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले बाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ।

सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोलीले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय बढी खेलाडीबाट एक जना चयन गरेको हो। क्यानबाट स्वीकृति लिन बाँकी भएकाले नाम भने सार्वजनिक गरेको छैन।

सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ। त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाडौँमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाडौँ जानेछ।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ।  ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई) लाई टिममा समावेश गरेको छ।

त्यस्तै आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो।

मंसिर २, २०८१ आइतबार २३:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।