स्थानीय तह उप-निर्वाचन : ओखलढुङ्गा जिसस प्रमुख निर्विरोध, सबैभन्दा धेरै उम्मेदवार धनुषामा, कम रुकुम र बझाङमा
काठमाडौँ : स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन पत्र दर्ता भयो।
निर्वाचन आयोगले समन्वय समिति , पालिका र गाउँ पालिका प्रमुखसहित वडाध्यक्षसम्म रिक्त स्थानका लागि उप निर्वाचनको मिति घोषणा गरेको हो। सबै ठाउँमा मंसिर १६ मा उप निर्वाचन हुँदैछ।
आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको उम्मेदवारी परेको छ। ओखलढुङ्गामा एक जनाको मात्र उम्मेदवारी परेकाले त्यहाँ निर्विरोध हुनेछ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा ८ पद रिक्त थियो। ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी परेको छ।
गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षमा ३४ पद रिक्त छ। ३५ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र १ अन्य गरी ३ सय २३ जनाको उम्मेदवारी दर्ता भएको छ।
सबैभन्दा धेरै धनुषा, कम रुकुम र बझाङमा
आइतबार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा उम्मेदवारी परेको छ। सो पदमा २१ जनाको उम्मेदवारी पर्यो। सबैभन्दा कम रुकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३–३ जनाको उम्मेदवारी पर्यो।
मंसिर २, २०८१ आइतबार २२:४४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।