पोखरा, बुटवलपछि अब रविको बयान दिने पालो काठमाडौँमा, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी

पोखरा, बुटवलपछि अब रविको बयान दिने पालो काठमाडौँमा, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी

काठमाडौँ : राजनीतिक प्रतिशोधका कारण आफ्नो सभापतिलाई प्रहरी हिरासतमा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकै दिन रवि लामिछानेको नाममा स्वर्णलक्ष्मी सहकारीको रकम दुरुपयोगमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले मागेको अनुमति स्वीकार गर्दै रविको नाममा पक्राउ अनुमति दिएको हो।

अदालतले आइतबार रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ।

अहिले रवि कास्कीको सुर्यदर्शन सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको आरोपमा न्यायिक हिरासतमा छन्। प्रहरीले उनलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा बयानका लागि बुटवल पूर्याएर कास्की फर्काइको थियो।

काठमाडौँबाट पक्राउ पुर्जी जारी रहेकाले अब उनलाई कास्कीबाट काठमाडौँ ल्याउने बाटो खुलेको छ। उनलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेर स्थलमार्गहुँदै कास्की पूर्याएको थियो।

गोर्खा मिडिया प्रालिको प्रबन्ध निर्देशकको रूपमा सहकारीको रकम अपचलनमा संलग्न रहेको उनीमाथि आरोप छ। चितवनको सहारा सहकारीको रकम समेत गोर्खा मिडियामा आएको संसदीय छानबिन समितिको अनुसन्धानमा खुलेको थियो।

सोही समितिको प्रतिवेदनको आधारमा उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यस अगाडिबाटै यी सहकारीको रकम अपचलनका घटना सार्वजनिक भए पनि उनी सरकारमा उपप्रधान तथा गृहमन्त्री भएपछि अनुसन्धान प्रभावित भएको थियो।

रविमाथि सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागको आधारमा उनी गृहमन्त्री हुँदा नै समिति गठन भएको थियो। समितिले छानबिन गर्दागर्दै उनी सत्ताधारीबाट प्रतिपक्षीमा पुगे।

समितिले व्यक्तिगत रूपमा कुनै सहकारीबाट पैसा लिएको नदेखिएको तर विभिन्न सहकारीबाट उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा रकम गएको र उनी सो कम्पनीको आर्थिक कारोबारमा संलग्न रहेकाले त्यसमा जिम्मेवार हुनुपर्ने सिफारिस गरेपछि उनी पक्राउ परे।

रास्वपाले भने संसदीय समितिले गोर्खा मिडियाको प्रबन्ध निर्देशकको रूपमा उनको भूमिकाबारे छानबिन गर्न गरेको सिफारिसको अपव्याख्या गर्दै व्यक्तिगत रूपमा संलग्नता नदेखिएको पक्षलाई मात्रै अगाडि सारेर रवि निर्दोष रहेको दाबी गर्दै आएका छन्।

अहिले सहकारी ठगीमा गोर्खा मिडियाका रवि र छवि प्रहरी हिरासतमा छन्। कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन्। अध्यक्ष जीवी राई भने फरार छन्। उनी मलेसियामा रहेको भन्दै सरकारले इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराएर नेपाल ल्याउन खोजे पनि सकेको छैन।

मंसिर २, २०८१ आइतबार २२:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।