सवारी दुर्घटना घटाउन दुई जना चालक र यात्रुलाई टिकट अनिवार्य गर्न गृहमन्त्रीको निर्देशन

सवारी दुर्घटना घटाउन दुई जना चालक र यात्रुलाई टिकट अनिवार्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ : बढ्दो सवारी दुर्घटना कम गर्न लामो दुरीको बसमा दुई जना चालक र यात्रुका हकमा टिकट अनिवार्य गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिए।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा छलफल गर्दै उनले यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिए।

 ‘सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउन सक्छ’ उनले भने ‘पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिति छ।’

बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिदैं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले यात्रु बाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारीसाधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गरेको बताए।

लामो दुरीका सवारी साधनमा दुई वटा चालक, यात्रु बाहक बसहरूमा टिकट अनिवार्य गरे नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न निर्देश भएको उनले बताए।

मन्त्री लेखकले जोखिम रहेका सडक राजमार्गहरू तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई आग्रह गरेका थिए।

काठमाडौँ उपत्यका लगायत मुलुकभर ट्राफिक चेकजाँच कडाइका साथ लागू गर्न छलफल समेत भएको छ ।

बैठकमा मन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, सडक विभागका सिडिई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायत सहभागी थि

मंसिर २, २०८१ आइतबार २०:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।