‘ह्रस्व दीर्घ’ : बाघको हल्ला तर बन्यो बिरालो

‘ह्रस्व दीर्घ’ : बाघको हल्ला तर बन्यो बिरालो

कथा र पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ। त्यसैले जुन फिल्मको कथा अनि पटकथा बलियो हुन्छ त्यो जस्तोसुकै अवस्थामा पनि दह्रोसँग प्रतिस्पर्धामा उभिन सक्छ। उभिएका उदाहरण पनि छन्।

यदि मुख्य मेरुदण्ड नै बलियो भएन भने अन्य अङ्ग जति बलियो भए पनि शरीर लत्रिने नै त हो। निर्देशकले कथामाथि कथा जोड्दै, चर्चित दक्षिण भारतीय कलाकारलाई भेला पारेर बनाएको फिल्म ‘ह्रस्व दीर्घ’ कमजोर मेरुदण्ड भएको शरीर लत्रिए जस्तै लत्रिन पुग्यो।

हरिहर अधिकारी र निता ढुंगानाले बढो मिहिनेतले बाघकै मुर्तीझेँ आकर्षक फिल्म बनाउने प्रयास गरे। फिल्म रिलिज अघिसम्मको उनीहरूको दौडधूप र फिल्मका कलाकारले उनीहरूको मिहिनेत देखिन्छ पनि।

तर निर्देशकमा बाघको शरीरको आकार प्रकार, उचाइ, चौडाइबारे ज्ञानको अभावमा बन्ने बेलामा बिरालो झैँ  देखियो। फिल्मको कथा,पटकथा, चरित्र अनुसारको कलाकारको छनौट र कहाँ कुन दृश्य राख्ने ज्ञानको अभावमा फिल्म ‘ह्रस्व दीर्घ’ पनि उही बाघको गफमा बनेको बिरालो जस्तै देखियो।

साउथ फिल्मका महँगा तथा अभिनयमा कहलिएका कलाकारहरू ब्रम्हानन्दम्,प्रदीप रावतदेखि अभिनयमा खारिएका नेपाली कलाकार सरोज खनाल, रेखा थापा, विपना थापासम्म राखेर फिल्म बनाए पनि ह्रस्व दीर्घ सबै जनावरको राम्रो अङ्ग जोड्दा बनेको उँट जस्तै देखियो।

मध्यान्तर अगाडिसम्म त फिल्मको कथा कतातिर दौडिरहेको छ भनेर भेउ नै पाउन सकिन्न। त्यसको नतिजा हल पुगेका दर्शकहरू मध्यान्तरसम्म पनि नकुरी बाहिरिएका दृश्य देखियो। पैसा तिरेर कसले यातना सहन चाहन्छ र !

मध्यान्तरपछि फिल्मले केही गति त समात्छ तर लिक छाडेको रेल पुन लिकमा फर्किन नसकी दुर्घटनामा परे समान फिल्मको कथा लिकमा फर्कनै सक्दैन। यसो हेर्दा दृश्यहरू राम्रा छन्। तर कुन प्रसंगमा ती दृश्यहरू आएका हुन् भेउ पाउनै सकिन्न। यसले फिल्मको कथालाई निकै अल्मल्याएको छ।

२ घण्टा ३४ मिनेट लामो फिल्मको चुस्त सम्पादन गर्ने हो भने सहजै डेढ घण्टामा झर्न सक्छ। कथासँग कतै तादात्म्य नमिले पनि यतीको राम्रो दृश्य त कसरी काट्नु भनेर माया गर्दा फिल्म नै गतिहीन भइदियो।

ज्योतिष निर्माता तथा अभिनेता भएर हो कि फिल्म धर्मका विषयमा बढी नै केन्द्रित भएको छ, त्यो पनि अर्थहीन रूपमा। विना प्रसङ्ग प्रवचन दिए झैँ लाग्छ।

द्वन्द्व निर्देशनबाट निर्देशनमा आएका चन्द्र पन्तले अझै निर्देशनबारे वर्कसपहरू लिनुपर्ने देखाउँछ फिल्मले। गतिलै पैसा खर्च गर्दैमा, राम्रा कलाकारहरू भेला पार्दैमा फिल्म गतिलो बन्न सक्दैन भन्ने पाठ सिक्न अन्य निर्माता तथा निर्देशकले यो फिल्म हेर्दा हुन्छ।

अब फिल्मको कथासारतिर लागौँ।

चितवनकी मेयर विपना थापाको छोरा भगाऊ डटकमका सञ्चालक हरि अर्थात् हरिहर अधिकारी उपद्र्याहा चरित्रका छन्। उनी भगाऊ डटकमका सञ्चालक भएपछि साथी काले (आदर्श मिश्र)सँग मिलेर कहिले जग्गेको बेहुलो उठाइदिने त कहिले हस्पिटलको बिरामी उठाइदिने काम गर्छन्।

यस्तै हर्कत गर्दागर्दै उनको भेट हुन्छ मठका महामन्त्री (प्रदीप रावत) की छोरी नारायणी(निता ढु‌ंगाना)सँग। अनि सुरु हुन्छ हरिको देवधामको यात्रा। उनी नारायणीलाई फकाउन देवधाम धाउन थाल्छन्।

कृष्ण अष्टमीको दिन देवधाममा पुगेका हरि र नारायणीको भेटले कथाले नयाँ मोड लिन्छ। दुवै प्रेममा बाँधिन्छन्। को प्रेम सम्बन्ध परिवारले थाहा पाउँछन्। महामन्त्रीले विवाहका लागि एक महिनासम्म धाममा बस्नुपर्ने सर्त राख्छन्।  सर्त स्विकारेर धाममा बसेका हरीको विवाह नारायणीसँग हुन्छ या हुन्न? मूल कथा यसै वरिपरि घुमेको छ फिल्मको।

अन्तिममा राखिएका गजित विष्ट र रेखा थापाको भूमिका कथाको माग नभई निर्माताको सिक्वेलको लोभमा थोपरिएको प्लट जस्तै देखिन्छ। पहिलो फिल्म नै यति कमजोर बनेको छ, कहिले फिल्म सकिएला भनेर दर्शक छटपटिइरहेको बेलामा दोस्रो सिक्वेलको प्लटले किन तान्थ्यो र ध्यान!

फिल्मको राम्रो पक्ष दक्षिण भारतीय कलाकारको नेपाली फिल्ममा अभिनय अनि फिल्मको खिचाई नै हो। फिल्मको साधारण दृश्यलाई पनि सिनेमाटोग्राफरले मिहेनत गरेर खिचेका छन्। भिज्योल रिच देखिन्छ फिल्मको।

चितवनका दृश्यहरूलाई उनले अन्य फिल्ममा आएको भन्दा फरक एङ्गल प्रयोग गरेर खिच्दा नयाँ लोकेसन जस्तै देखिएको छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालको काम तारिफ योग्य छ।

अभिनयका रूपमा निताले न्याय गरेकी छिन् पात्रलाई। उनको अभिनयमा समस्या छैन। लामो समयको ग्यापपछि अभिनयमा फर्किएकी बिपना थापाको अभिनय फ्रेस देखिन्छ। उनी अभिनयमा सक्रिय नभए पनि उनको मनमा अभिनयको भोक जागै रहेछ भन्ने देखायो यो फिल्मले।

‘लन्डन टु पेरिस’मा देखिएको अभिनयको तुलनामा गरिमा शर्माको यो फिल्ममा अभिनय केही सुधारिएको देखिन्छ। भावुक दृष्यमा फिट छ उनको अभिनय।

भारतीय अभिनेता ब्रम्मानन्दमले नेपाली फिल्ममा अभिनय गर्न स्वीकार गर्नु उपलब्धि हो। तर दक्षिण भारतीय फिल्महरूमा उनको जुन छवि छ त्यही अनुसार दर्शकलाई हँसाउन गरिएको चरित्र निर्माण फितलो छ। फिल्ममा उनको अभिनय चटनी हुनुपर्ने हो। तर निर्देशकको कमजोरीका कारण चटनीमा न नुन मिल्यो न त पिरो नै।

प्रदीप रावत पर्दामा प्रवेश हुँदा सिरिङ बनाउँछ दर्शकलाई। तर त्यो ह्रस्व दीर्घको कथाको कारण भन्दा पनि दक्षिण भारतीय फिल्ममा उनले गरेको अभिनयले नेपाली दर्शकमा परेको छाप मुख्य कारण देखियो।

हरिको साथी बनेका आदर्श मिश्र र नारायणीको साथी बनेकी लक्ष्मी पौडेलको अभिनयले दर्शकलाई निदाउनबाट बचाउँछ। मुल  अभिनेताको सहयोगी बनेका यी दुबै पात्रको चयन सुहाएको छ। 

महामहन्त मठबाट बाहिर निस्कँदाको भिडलाई धेरै देखाउने लोभमा क्यारेक्टरहरू कपीपेष्ट भएको बाहेक अन्य दृश्यमा भिएफएक्सको प्रयोग राम्रै देखिएको छ। संगीत पक्ष ठिक छ। छोटो भए पनि रेखा थापा चरित्रमा फिट छिन्।

यतिको पक्ष सकारात्मक हुँदाहुँदै फिल्मको कथा अनि पटकथा नै चौपट छ। एउटा कथा अगाडि बढ्दाबढ्दै अर्को सहायक प्लटको प्रवेश हुन्छ अनि फिल्म कता पुग्छ कता। हैन फिल्मको कथा कता हरायो भनेर दर्शक अल्मलिन्छन्।

फिल्मको नाम ‘ह्रस्व दीर्घ’ राखियो। तर नाम अनुसार निर्देशकले कथा, पटकथा, चरित्र चित्रण अनि पात्र चयनको ‘ह्रस्व दीर्घ’ नै मिलाउन सकेनन्।

फेबिकोलले दुवैको हातमा आपसमा टाँसिएसँगै २४ घण्टासम्म ननिस्किएपछि होटेलमा सँगै बस्नेदेखि लिएर भागेर जंगलहुँदै चितवन आइपुग्ने दृश्यको प्लट जति झुर छ त्यति नै लामो। १० मिनेटको यो सिन हलबाट दर्शक भगाउन सहयोगी बनेको छ।

फिल्ममा लिइएका सबै कलाकारहरूलाई कुनै न कुनै दृश्यमा समेट्ने चक्करमा कथासँग कतै मेलै नहुने दृश्यहरू समेत राखिएको छ। नेता बनेका भारतीय कलाकार सुनिल वर्मा र प्रशान्त ताम्राकारको चरित्र एकै खालको छ। यसमा कि सुनिल भए पुग्छ कि प्रशान्त। तर दुबैलाई एकै फ्रेममा किन राखिएको हो, निर्देशकै जानुन्।

यी पात्रको साटो निताको बुबा बनेका प्रदीप रावतको चरित्र निर्माणमा मिहेनत गरेको भए नतिजा फरक आउन सक्थ्यो। उनको चरित्र निर्माण केही कसिलो बनाएर निर्देशकले अभिनेतालाई पूर्याउन खोजेको चरणमा पूर्याउन सक्ने देखिन्छ।

अन्तिममा राखिएका गजित विष्ट र रेखा थापाको भूमिका कथाको माग नभई निर्माताको सिक्वेलको लोभमा थोपरिएको प्लट जस्तै देखिन्छ। पहिलो फिल्म नै यति कमजोर बनेको छ, कहिले फिल्म सकिएला भनेर दर्शक छटपटिइरहेको बेलामा दोस्रो सिक्वेलको प्लटले किन तान्थ्यो र ध्यान!

फिल्मको अर्को कमजोर पक्ष चरित्र चित्रण अनुसार कलाकारको चयन। भिलेनको चरित्रमा छानिएका कलाकारहरू तोप जस्ता देखिएका छन्। अनि उनीहरूसँग भिड्ने अभिनेता हरिहर भने फिस्टे चरा जस्तो। लामो कपाल राखेर अभिनेताको बडी पोस्चर म्याच गराउने प्रयास गरिएको छ। तर अनुहारै दुधे बालक देखिएपछि कसको के लाग्छ र!

फिल्ममा भिलेन र अभिनेताबीच द्वन्द्वका दृश्य आउँदा दर्शकमा न आकर्षण देखिन्छ न त कौतुहलता। फिस्टे चरा मार्न तोप चलाएको दृश्य कसरी रोचक हुनसक्छ र! हास्य रसका लागि भए पनि दर्शकले पचाउँथे कि! 

फिल्ममा चार वटा गीत छ। अधिकांश गीत फिल्मको कथा अनुसार नै राखिएका छन्। पहिलो गीत ‘उठेर नासिस्यो’, त्यसपछि लगातार ‘जपिँदैन हरि मनमा पिरै नपरी’देखि गरिमालाई बन्धकबाट फुत्काइपछिको गीत ‘दुस्मनको घेरो तोडी हाम्रो भाइ लिन आयो’सम्म ठिकै देखिएका छन्।

फिल्मको ब्याकग्राउड म्युजिक ठिक सुनिएको छ। फिल्म, सेट निर्माण, कोरियोग्राफी राम्रो छ। निता निकै सुन्दर देखिएकी छिन् फिल्ममा।

फिल्म निर्माणमा पक्कै मिहिनेत देखिन्छ। नेपाली अनि दक्षिण भारतीय कलाकार चयन गर्न निर्माण टिमले राम्रै मिहेनत गरेका पनि हुन्।

तर घरको नक्सा जति चिटिक्क बनाए पनि जग बलियो भएन भने त ढल्ने नै हो। फिल्मको कथा, पटकथा अनि मूल अभिनेता चयनको यति धेरै कमजोरीमा फिल्म ह्रस्व दीर्घ हलमा कसरी टिक्न सक्ला!

मंसिर १, २०८१ आइतबार १८:४४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।