कांग्रेसको बहुमत देखिएको जिसस ओखलढुङ्गामा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई नै सघाउने

कांग्रेसको बहुमत देखिएको जिसस ओखलढुङ्गामा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई नै सघाउने
तस्बिरमा कांग्रेस सभापति र एमाले अधक्ष्य

ओखलढुङ्गा : जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेदवार नउठाउने भएको हो।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ। उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेदवार नउठाउने विषयमा एमाले नेताहरु सहमत भए। 

जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन्। एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन्। जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ। 

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने छन्। आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति तथा केन्द्रको सत्ता गठबन्धनको नीतिअनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए। 

जिल्लामा उपनिर्वाचन हुने मोलुङ-५ को वडाध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ। मोलुङ-५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उनको दाबी छ। 

मोलुङ-५ एमालेका केन्द्रीय सदस्य तथा दुई पटक सङ्घीय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नैपर्ने दबाब छ। यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो। 

मोलुङ-५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गङ्गाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन्। यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन्। 

मंसिर १, २०८१ आइतबार १५:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।