कीर्तिपुरमा जसपा नेपालबाट दुईजना तेस्रोलिङ्गीले उम्मेदवारी दर्ता गराए
काठमाडौं : आगामी मङ्सिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार भएका दुईजना तेस्रोलिङ्गी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
आज जसपा नेपालका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराए। कीर्तिपुर नगरपालिका-४ को वडाअध्यक्षमा पनि जसपा नेपालले तेस्रोलिङ्गी मौनी महर्जनलाई उम्मेदवार बनाएको थियो। उनले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।
हनी स्थानीय टुरिस्ट गाइड पनि हुन् भने मौनी तेस्रोलिंगी मोडल हुन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवार बनाएको हो।
मंसिर १, २०८१ आइतबार १३:४६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।