रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवार नउठाउने, स्वतन्त्र उम्मेदवारलाई सघाउने

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवार नउठाउने, स्वतन्त्र उम्मेदवारलाई सघाउने
तस्बिरमा जयराम कार्की

काठमाडौं : मङ्सिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने भएको छ।

आज बिहान १० बजेदेखि सुरू भएको उम्मेदवारी मनोनयनमा रास्वपाले मनोनयन दर्ता नगराउने निर्णय लिएको काठमाडौं नगर सभापति प्रदीप विष्टले बताए।

उनका अनुसार रास्वपाले आफूले उम्मेदवारी नदिएपनि स्वतन्त्र उम्मेदवारमध्ये एकलाई समर्थन गर्ने र त्यसको लागि पार्टीले बैठक बसेर निर्णय लिने छ। 

काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ। 

यसअघि रास्वपाले कीर्तिपुरमा नगर सभापतिसमेत रहेका जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। पार्टीले आह्वान गरेको उम्मेदवारीमा उनी एकजनाले मात्र दाबी पेश गरेका थिए। 

कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र महर्जन, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन् भने एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गरेका छन्।

मंसिर २, २०८१ आइतबार १३:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।