भक्तपुर प्रत्यारोपण केन्द्रका निर्देशकविरुद्धको स्थानीयको आन्दोलनमा मौन स्वास्थ्य मन्त्री
काठमाडौँ : स्वास्थ्यमन्त्री र कार्यकारी निर्देशकविरुद्ध भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि आन्दोलित भइरहेको छ। तर समस्या समाधान गर्न न मन्त्री प्रदीप पौडेलले चासो राखेका छन् न त निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नै सक्रिय छन्।
केन्द्रमा अनियमितता भएको भन्दै स्थानीयवासी नै विरोध प्रदर्शनमा छन्। भक्तपुर नागरिक सरोकार समाजको ब्यानरमा आन्दोलनमा उत्रिएको समूहले अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिरहेका छन्।
अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तलब भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनमा उनीहरूले स्वास्थ्यमन्त्री पौडेलको चर्को विरोध गरेका छन्। मन्त्रीलाई भेटेर पटक पटक ज्ञापन पत्र बुझाए पनि मन्त्रीले नै भ्रष्टहरूलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ।
केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटक पटक जानकारी गराए पनि अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरिएको भन्दै स्थानीय राजेन्द्र पुरीले आपत्ति जनाए।
अस्पतालको सेवा सुविधा रोक्ने, आफूखुसी डाक्टरहरू बर्खास्त गर्ने साथै अवैधानिक रूपमा मानव अङ्ग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेको उनले आरोप लगाए।
डा.श्रेष्ठ निकै विवादित चिकित्सक हुन्। स्थानीयले उनलाई बर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने बताए।
मंसिर २, २०८१ आइतबार १३:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।