कैलालीमा कांग्रेस-एमाले मिले, जिससमा आफ्ना उम्मेदवार नउठाएर एमालेले कांग्रेसलाई सघाउने
कैलाली : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा आफ्नो उम्मेदवार नउठाएर एमालेले नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ।
मंसिर १६ मा हुने समन्वय प्रमुखको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्तारूढ कांग्रेस-एमालेबीच सहमति भएको हो।
कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबीच सहमति भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राना देउवा पनि दुई दिनदेखि कैलाली-डडेल्धुरामा छन्।
कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक छिन्।
टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्।
२०७९ साल पुस २३ मा जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधनपश्चात् कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो।
त्यहाँ नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन्।
मंसिर २, २०८१ आइतबार १२:४२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।