आमा पात्रलाई अन्यायमा पारिएको 'पूर्णबहादुरको सारङ्गी'
चलचित्र 'पूर्णबहादुरको सारङ्गी' यतिबेला राष्ट्रियस्तरको चर्चामा छ। नेपाली चलचित्रको इतिहासमा यति दर्शकको माया र साथ पाउनु गौरवको कुरा हो। त्यसो त नेपाली जनताले नेपाली माटोका कथाहरूलाई माया गरेको यसअघिका केही चलचित्रले पनि प्रमाणित गरिसकेकै हुन्। यही मेसोमा माटोको कथा भन्ने चलचित्रले पनि शानदार व्यापार गर्न सक्छन् भन्ने 'पूर्ण बहादुरको सारङ्गी'ले देखाइदिएको छ।
सर्वत्र चर्चा कमाइरहेको यस चलचित्रमा दर्शकले रुँदै प्रतिक्रिया दिएको भिडियो बाहिरिएका छन्, चलचित्र नगरीमा सकारात्मक टिप्पणी गर्नेहरूको संख्या ठूलै छ, एकपछि अर्को गर्दै रेकर्डहरू बनाइरहेको छ। झट्ट हेर्दा, यो चलचित्रलाई हरेक उमेर समूहले रुचाएको देखिन्छ।
'पूर्णबहादुरको सारङ्गी' पारिवारिक चलचित्र हो। बाबुबाट पाएको सारङ्गीलाई नै पुर्खाको सम्पत्ति मान्ने र गन्धर्व कुलमा जन्मिएपछि सारङ्गी रेट्दै गीत गाएर अरूले जे दिन्छन् त्यसकै भरमा गुजारा गर्नु मुल धर्म ठान्ने पात्र पूर्णबहादुर (विजय बराल)को वरिपरी घुमेको छ चलचित्र। यही पात्र मार्फत सीप अनुसारको कर्मसँगै जोडिएको आर्थिक दुरावस्था र त्यसले ल्याउने पारिवारिक विचलन देखिन्छ।
मुख्य पात्र पूर्णबहादुरले कान्छा छोरा कमल (प्रकाश सपूत)लाई बाउ बाजको पुर्ख्यौली पेशा नसिकाई चिकित्सक बनाउने सपना देख्छन्। अन्ततः उनले छोरालाई डाक्टर बनाई छाड्छन्। बुबा र छोराबीचको गज्जब प्रेम देखाइएको छ चलचित्रमा। तर, आमा बाटुलीलाई नकारात्मक पात्रको रूपमा देखाउन खोजिएको छ। मेरो विमति यहीनीर केन्द्रित छ।
पहाडी जीवनशैली, पञ्चायतकालको समय परिस्थितिलाई चलचित्रमा देखाइएको छ। पूर्णबहादुरले आफ्ना बुबाले हस्तान्तरण गरेको सारङ्गी बजाएर जिन्दगी गुजार्छन्। जिन्दगी भरि सारङ्गी रेटेर उनले छोरालाई पढाउँछन्।
छोरा (बाल कलाकार स्वयंम केसी)ले दलित भएकै कारण प्रधानाध्यापकले आफूलाई गरेको भेदभाव अनि बुबाको आत्मसम्मानको लागि मेहनत गर्छन्। कथित उच्च जातिका बच्चाहरू विद्यालय जाँदा पूर्णबहादुर भने 'गन्धर्व जाति जिन्दगी सारङ्गी रेटेर खाने हो' भनेर उपेक्षा गर्छन्। छोराको चाहना हुँदाहुँदै पनि उनले बेवास्ता गर्छन्।
यहीबीचमा चलचित्रले टर्निङ लिन्छ। गाउँमा जनगणनाका लागि विश्वकर्मा समुदायका एकजना गणक आउनु अनि उनलाई प्रधानाध्यापकले गरेको सम्मान यो कथाको टर्निङ पोइण्ट हो। त्यही समयमा कथित उच्च जातको विद्यार्थीले विद्यालयमा डाक्टरको अभिनय गर्न असमर्थ हुन्छन् र कमल गन्धर्वले डाक्टरको पोसाकमा सहजै अभिनय गर्छन्। नाटकमा डाक्टर बनेका कमलको सम्मानमा सबैले ताली बजाउँछन्। यही दृश्य बुबा पूर्णबहादुरले देख्छन्।
आफूलाई सधैं दलित गन्धर्व भनेर हेला गर्ने विद्यालयका साथीहरूले आज किन ताली बजाए भन्ने प्रश्नले कमलको बाल मष्तिष्कलाई छुट्टै प्रभाव पारिदिन्छ। त्योभन्दा गहिरो छाप तब पर्छ, जब 'त्यो सम्मान तेरो लागि होइन, त्यो सेतो कोटको लागि तालि बजाइएको हो' भन्ने बुबाको जबाफ आउँछ। अनि त सेतो कोटमा यतिधेरै लगाव बस्छ कि, प्रधानाध्यापकको आँगनको कपडा सुकाउन राखिएको कोट नै लिएर घर फर्किन्छन् कमल।
त्यसपछि कोट चोरको भन्दै प्रधानाध्यापकले ढाडमा लामो सुम्ला बस्ने गरेर लठ्ठीले हिर्काछन्। प्रधानाध्यापकले गरेको त्यो हिंसाको इख कमलको मनमा पस्छ अनि सँगै बुबा पूर्णबहादुरको पनि। त्यही मोडबाट बद्लिएको गन्धर्व परिवारको कथा समयक्रमसँगै बुबा-छोराको मेहनतले छोरा डाक्टर बन्नेसम्म पुग्छन् कमल।
अहिले उनै बुबा पूर्णबहादुरको चर्चा जताततै छ। धेरैले उनलाई महान बुबा भनेका छन्। बुबा-छोराको संघर्ष, स्नेह, हार्दिकतालाई उतार्न चलचित्रले कसर बाँकी राखेको छैन पनि।
सँगै चलचित्रको अर्को अँध्यारो पाटो पनि छ। एकातिर बुबालाई उच्च स्थान देखाइएको चलचित्रले अर्कातर्फ आमा बाटुली (अन्जना बराइली)लाई नकारात्मक पात्रको रूपमा चित्रण गरेर बिचैमा छाडेको छ।
बाटुली विश्वकर्मा पूर्णबहादुरलाई मन पराउँछिन् र जानी-जानी दोहोरीमा हारेरै पूर्णबहादुरसँग घरजम बसाउन तयार हुन्छिन्। उता विश्वकर्मा भएर गन्धर्वसँग विवाह गरेको भन्दै कुशको प्रतिमा बनाएर माइतीले उनको जिउँदै किरिया गरिदिन्छन्। माइतिको तिरस्कार सहन गार्हो हुन्छ नै, तर, पूर्णबहादुरसँग जोडिँदा माइतीले गरेको त्यो तिरस्कार पनि सह्य छ उनलाई।
मायाको लागि उनले आफ्नो पहिचान नामेट पार्दै पूर्णबहादुरसँगको पहिचानमा रमाउँछिन्। तर बाटुली अरूको दैलोमा मागेर, अरूले दिएको थोत्रा लुगा लगाएर आत्मसम्मान नहुने ठान्छिन्। यो सिलसिला उनी आमा बनेपछि झन बढेको चलचित्रमा देख्न सकिन्छ।
विद्यालय जाने उमेरको छोरा बाउको पछि लागेर सारङ्गी भिरेको उनी सहन सक्दिनन्। अनि यही विषयमा बारम्बार पूर्णबहादुरसँग प्रतिवाद गर्छिन्। छोराको भविष्यप्रति उनलाई धेरै चिन्तित देखाइएको छ। त्यो भनेको उनले गरेको सन्तानप्रतिको प्रेम नै हो।
यति हुँदाहुँदै पनि चलचित्रको पटकथाकार र निर्देशकले बाटुलीको चरित्रलाई नकारात्मक बनाएका छन्। उनको भूमिकालाई पन्छाएर काटिदिएका छन्, ताकि चलचित्र बुबाको नाममा एकलौटी आओस्। वा भनौं, चलचित्र बुबामय होस्।
छोरालाई अधिक माया गर्ने आमालाई निष्ठुरी, तिरस्कृत देखाइएको छ। सन्तान अनि श्रीमान्को मायाको लागि बाटुलीले सबै त्याग गर्छिन्। औधी माया गरेको लोग्नेले खाएको खप्की र छोराको भविष्यलाई कल्पना गर्दै उनले पूर्णबहादुरसँग गाउँ छाडेर जाने कुरा गर्छिन्। के यो उनको त्याग हैन?
निर्देशकले छोराको लागि घरपरिवारसँग लड्न, झगडा गर्न तयार बाटुली कमजोर पात्र देखाउँदै कथाबाट पन्छाइएको छ। एउटा पत्रमा हर्केसँग पोइला गएकोसमेत भनिएको छ। के बाटुली त्यति कमजोर पात्र हुन्? प्रारम्भिक चरित्र चित्रण त्यस्तो त छैन। तर प्रारम्भमा आफैँले निर्माण गरेको चरित्रभन्दा भिन्न देखाएर निर्देशकले आमामाथि अन्याय गरेका छन्।
हाम्रो समाजमा बाटुली जस्ता हजारौं आमाहरूको कारण सुन्दर छ। ती आमाहरू, जो सन्तानको सुखद भविष्यको लागि घरपरिवारको विरुद्ध उत्रिएका छन्। आफूले जस्तो दुख र दोस्रो दर्जाको नागरिक बनेर भएपनि लोग्नेसँग प्रतिवाद गरेका छन्।
तर, चलचित्रमा बाटुलीलाई आमाको हात समातेर भाग्दा छोराको पछि नलागेर एउटा चिठीको डरमा घरको न घाटको भए भनेर निर्धो देखाएको छ। छोराको भविष्यको लागि घरबाट हिँडेकी बाटुली छोरा हात फुस्काएर भाग्दा माइती गाउँका हर्केले हात समातेकै भरमा रोकिने र चिठीमा 'पोइला हिँडेको' लेखेकै आधारमा निरिह हुने पात्रको चित्रण किन?
पहिला क्रान्तिकारी देखाएर पछि महिलालाई यति निरिह देखाएर चलचित्रमा पितृसत्ता मज्जाले झल्किएको छ।
नौ महिनासम्म गर्भमा राखि अनेकौं हन्डर दुख सास्ती खेपेर हुर्काइएको छोराको माया त्यागेर एउटा चिठीको डरमा रोकिएर बस्न सक्लिन् ति पात्र !
कथामा मिसिएको यो चरित्रले बुबा पात्रलाई हाइलाइट गराउने दौड मात्र देखिन्छ। बाबुलाई हिरो बनाउन आमा पात्रमाथि अन्याय गरेका छन् निर्देशकले। चेतनशील र स्वाभिमानी बाटुलीलाई छोराको नजरमा ममता नभएकी निष्ठुरी आमा साबित गरिएको छ।
आफूले दिलोज्यान दिएको लोग्नेसँगको सम्बन्ध एउटा चिठीले सकिन्छ र? कथामा स्पेश हुँदाहुँदै बाटुलीको पात्र निकै हलुका बनाइयो। उसलाई कुनै निष्कर्षमा नपुर्याई अलपत्र पारि बुबा र छोराको सम्बन्धलाई बढि नै प्राथमिकतामा राखियो।
दिनभरि ज्याला मजदुरी गरेर आधा पेट खाइ सन्तानको पेट भर्ने आमा, अस्तित्वको लागि जस्तोसुकै लडाई पनि गर्ने आमालाई यहाँ कायर देखाइएको छ।
आफ्ना सन्तानका लागि इतिहासमा आमाहरूले परिवार समाजसँग भिडेका छन्, पार्वती, सीता, कुन्ती, यसोदा, मेरीलाई सम्झिए पुग्छ। देशमा पञ्चायतका विरुद्ध लड्दा होस् या दश वर्ष जनयुद्धमा बन्दुकसँग आफ्ना सन्तानलाई छातीमा टाँसेर हिँडेका बहादुर महिलाहरू, हाम्रै समाजका महिला हुन्।
कि प्रारम्भिक चरित्र चित्रणमै बाटूलीलाई उस्तै स्वार्थी बनाउन सक्नुपर्यो। कथालाई प्रारम्भमा बगाउन परिवारसँग विद्रोह गर्नसक्ने, छोराको भविष्यका लागि श्रीमानसँग द्धन्द्ध गर्न सक्ने अनि परिआए विद्रोह गर्न तयार चरित्र निर्माण गरेर निर्देशकले फिल्मलाई एकपक्षीय र भावुक बनाउन नारी पात्रमाथि अन्याय गरे।
त्यसैले यो चलचित्रले पूर्ण रुपमा नेपाली माटो बोल्न सकेन। व्यापारिक रुपमा जति नै सफल भए पनि अपूरो र लैङ्गिक रुपमा विभेदी चलचित्र बन्यो पूर्ण बहादुरको सारङ्गी।
मंसिर २, २०८१ आइतबार ११:३०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।