५ अन्तराष्ट्रिय उडान थालिएको भैरहवामा भिजिबिलिटीकै​​​​​​​ समस्या, नियमित उडान हुनेमा पनि शंका, भारत बाधक बन्दा थप चुनौती

५ अन्तराष्ट्रिय उडान थालिएको भैरहवामा भिजिबिलिटीकै​​​​​​​ समस्या, नियमित उडान हुनेमा पनि शंका, भारत बाधक बन्दा थप चुनौती

बुटवल : गत बिहिबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको बैंककबाट आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भयो। पटक-पटक विमान धावनमार्गमा अवतरण गर्न खोजेपनि सकेन। किनकी गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी (दृश्यात्मकता) कम थियो। 

गत मंगलबार र बुधबार जजिरा एयरवेजको जहाज कुवेतबाट भैरहवा आउनुपर्नेमा काठमाडौंमै अवतरण गर्यो। विमानस्थलमा तुँवालो लागेकाले भिजिबिलिटी कम भएपछि पाइलटले विमान भैरहवामा अवतरण गराउनु सट्टा काठमाडौंमै अवतरण गराए।

जाडो याम सुरू हुनै लाग्दा भैरहवा विमानस्थलबाट अहिले बिहानको समयमा भिजिबिलिटी कम भएकै कारण उडानहरू प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडान मात्र होइन, आन्तरिक उडानहरूसमेत अहिले समयमै भइरहेका छैनन्।

यसअघि नेपाल र भारत सरकारबीच गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने सहमति भएको छ। यही सहमति अनुसार विमानस्थलमा कम भिजिबिलिटीमा पनि विमान अवतरण गर्न मिल्नेछ।

हाल भैरहवाबाट पाँच वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालिसकेका छन्। उद्घाटनको साढे २ वर्षसम्म अन्तर्राष्ट्रिय उडानले नियमितता पाउन नसकेको गौतमबुद्ध विमानस्थलमा अब भने चहलपहल बढ्न थालेको छ। यसबाट रूपन्देहीको पर्यटन र व्यवसाय क्षेत्रमा आशा र उत्साह छाएको छ। तर, हुस्सु र कुहिरो लाग्दा भिजिबिलिटी नियमित उडानमा चुनौती बनेको छ।

हाल विमानस्थलमा पन्ध्र सयदेखि दुई हजार मिटर भिजिबिलिटीमा विमान अवतरण भइरहेका छन्। जाडो याममा भिजिबिलिटी हजार भन्दा कम हुन्छ। हजार भन्दा कम भिजिबिलिटीमा पनि उडान गर्न इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) विमानस्थलमा जडान त भएको छ। तर, एयर स्पेसको इस्युको कारणले भारतीय पक्षले नमान्दा त्यो सञ्चालन हुन सकेको छैन।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीकाअनुसार आइएलएस सञ्चालनपछि आठ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने छ। 

‘हामीले अहिले आरएनपीएआर विधि अपनाएर विमान अवतरण गराएका छौं। यो स्याटालाइटमा आधारित हो,’ उनले भने।

आइएलएस एउटा रेडियो नेभिगेसन प्रणाली हो। यसले विमानलाई राति वा खराब मौसममा पनि सुरक्षित अवतरण गराउन सहयोग पुग्ने उनले बताए। 

‘यो पूर्णतः प्रविधिमा आधारित अवतरण प्रणाली हो। यसले धावनमार्गबाट आकाशमा रहेको जहाजमा सूचना प्रदान गर्ने काम गर्छ,’ उनले भने।

भिजिबिलिटी कम हुँदा उडानमा भन्दा पनि बढि अवतरणमा ठूला जहाजलाई समस्या पर्छ। हाल जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान उडान अवतरण गर्दै आएको छ। 

कुवेतबाट आउँदा जजिराले भैरहवा विमानस्थलमा बिहान साढे ७ बजे अवतरण गर्छ। साढे ८ बजे भैरहवाबाट पुनः कुवेत उड्ने तालिका छ। महाप्रबन्धक तिवारीकाअनुसार जाँदा समस्या नभएपनि आउँदा (अवतरण) गर्दा भिजिबिलिटी कम भएमा उडान गर्न समस्या हुन्छ।

त्यसो त आइएलएस जडानको अनुमति दिएपनि प्राविधिक समस्या हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आइएलएस सिस्टमले भारतीय आकाश ओगट्दा भारतीय क्षेत्रमा उडान सुरक्षामा चुनौती थप्ने गतिविधि प्रतिबन्ध लगाउनुपर्ने महाप्रबन्धक तिवारीले बताए। 

अहिले भैरहवामा खराब मौसम हुँदा जहाजलाई सिमरातर्फबाट अवतरण गर्न २२ सय मिटर भिजिबिलिटी चाहिन्छ। नेपाल बाहिरबाट आउने जहाजका लागि सिमराबाट भरतपुर हुँदै भैरहवा जाने हवाईमार्ग बनाइएको छ। सिमराबाट यो २० देखि २४ मिनेटको हवाई दूरीमा छ।

उत्साहित पर्यटन व्यवसायी, नियमित उडान हुनेमा आशंका
विमानस्थलबाट पाँच वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले उडान थालेपछि यतिबेला पर्यटन व्यवसायी उत्साहित छन्। तर, उनीहरू यसको निरन्तरता हुने वा नहुनेमा आशंका गर्छन्।

सातामा १७ वटा अन्तर्राष्ट्रिय उडान तालिका रहेको विमानस्थलमा कुवेतको जजिरा एयरवेज, युएईको फ्लाई दुबई,  कतार एयरवेजको वाइडबडी विमान, थाइल्याण्डको थाई एयरवेज र नेपाल वायुसेवा निगमले उडान भर्दै आएका छन्।

अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने यात्रुहरूका लागि श्रम कार्यालयको स्थापना, वैदेशिक रोजगारीमा जानेहरूका लागि मेडिकल रिपोर्टको सर्टिफिकेट उपलब्ध गराउने व्यवस्था, भिसा कार्यालयको स्थापना, आकस्मिक रूपमा पासपोर्ट रिन्यु तथा जारी गर्नका लागि कार्यालय स्थापना भएका छैनन्। यी संरचना अगावै विमानस्थलबाट  नियमित उडान हुनेमा आशंका रहेको पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए।

‘उडान हुँदा केही खुसी त व्यवसायमा छाएको छ। तर, सरकारले अव पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ। विदेश जानेहरू सबैले सहज रूपमा जानु अघिका श्रम, पासपोर्ट नवीकरण लगाएतका कामहरू यहाँ हुनुपर्छ,’ उनले भने।

मंसिर २, २०८१ आइतबार ०९:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।