काठमाडौंमा माओवादी र एकीकृत समाजवादीको तालमेल, माओवादीको मेयर, वडा अध्यक्ष एकीकृत समाजवादीलाई
काठमाडौं : मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ।
दुई दलको संयुक्त बैठकले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका १६ नम्बर वडाको अध्यक्षमा तालमेल गर्ने सहमति गरेको हो।
सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरको १६ नम्बर वडाअध्यक्षमा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ।
सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।
गत निर्वाचन विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुरमा मेयर अनि एक नम्बर र चार नम्बर वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। माओवादीले १ नम्बर वडा अध्यक्षमा अष्टमान महर्जन र ४ नम्बर वडा अध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले ४ नम्बर वडामा रीता खड्कालाई उम्मेदवार बनाएको छ।
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। एमालेले भने डा. सुरेन्द्र मानन्धरलाई र माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ।
कात्तिक ३०, २०८१ शनिबार २०:५७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।