ट्रम्पले २७ वर्षीय क्यारोलिनलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाए
एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाउने घोषणा गरेका छन्।
ट्रम्पको चुनावी अभियानकी प्रवक्ताका रूपमा काम गरेकी २७ वर्षीय क्यारोलिन अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी प्रेस सेक्रेटरी बन्ने भएकी हुन्। यसअघि सन् १९६९ मा राष्ट्रपति रिचर्ड नेक्सनले २९ वर्षीय रोनाल्ड जिग्लरलाई प्रेस सेक्रेटरी बनाएका थिए।
ट्रम्पको पहिलो कार्यकालमा पनि उनले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्। क्यारोलिन हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पको चुनावी अभियानको प्रेस सेक्रेटरी थिइन्।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै अमेरिकी जनतालाई आफ्नो सन्देश प्रवाह गर्नका लागि क्यारोलिन सफल हुने आशा व्यक्त गरे।
‘क्यारोलिन स्मार्ट र सशक्त छिन्। उनले आफूलाई प्रभावकारी सञ्चारकका रूपमा प्रमाणित गरिसकेकी छन्,’ ट्रम्पले भनेका छन्।
न्यु ह्याम्पसायरकी बासिन्दा रहेकी क्यारोलिनले आफ्नो गृह राज्यमा रहेको सेन्ट एनसेलम कलेजमा सञ्चार र राजनीतिशास्त्र अध्ययन गरेकी छन्। उनले फक्स न्युज र ट्रम्पको ह्वाइट हाउस प्रेस अफिसमा प्रशिक्षार्थीका रूपमा काम गरेकी छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले दैनिक रूपमा त्यहाँ पत्रकारका लागि प्रेस ब्रिफिङ गर्नुपर्ने हुन्छ। राष्ट्रपति र मन्त्रिपरिषद्को कामकाज बारे जानकारी दिनुपर्छ।
राष्ट्रपतिको दैनिक कार्यतालिका र विदेश यात्रा बारे जानकारी दिनुकासाथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा राष्ट्रपति कार्यालयको अडानबारे प्रस्ट पार्नुपर्ने काम प्रेस सेक्रेटरीको हो।
कात्तिक ३०, २०८१ शनिबार १९:२८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।