अस्ट्रेलियाबाट सुदूरपश्चिम रोयल्समा लगानी गर्न आएका शाह, फिल्म यात्रा फ्लप भयो, क्रिकेट यात्रा के होला !
काठमाडौँ : ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरूको अनुबन्धनले प्रतियोगिताको महत्त्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ’, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लीन स्वतन्त्र प्रताप शाहले कुराकानीको सुरुआतमा भने।
उनी एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्स’का लगानीकर्ता हुन्। टिमका लगानीकर्ता अनि नेपाल क्रिकेट एसोसिएसनका पदाधिकारी अहिले विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलमा व्यस्त छन्।
एनपिएलका पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज् लगायत आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा किनेको थियो।
दुई दशकभन्दा लामो समयदेखि अस्ट्रेलियामा बसेर आएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन्। उनले पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेका छन्।
स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उनी कुनै समय तेक्वान्दो खेलाडी थिए। त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेका थिए। विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बासडर’ हुन्।
अस्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हालेका उनी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत भइसकेका छन्।
उनले फिल्म ‘फेसबुक’मार्फत कलाकारितामा समेत प्रवेश गरे। तर कला यात्रा सुखद हुन सकेन। त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गरे। त्यो पनि फ्ल्प भयो। उनी अहिले एनपिएलमार्फत क्रिकेट व्यवसायमा प्रवेश गरेका छन्।
‘नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्यो’, उनले भने ‘नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो।’
एनपिएलका कारण खेलाडी उत्पादन र विकासमा ठुलो सहयोग पुग्ने उनको तर्क छ। उनले अस्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रूपमा भित्र्याएका छन्।
यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अस्ट्रेलियामा खेल्ने अवसर आउन सक्ने शाहको भनाइ छ।
जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरी हुन्। टोलीलाई स्कटल्यान्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अलि जेब, युएईका रोहन मुस्ताफाले साथ दिनेछन्।
टोलीमा आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन्।
*राससको सामग्री सम्पादनसहित प्रकाशित गरिएको
मंसिर १, २०८१ शनिबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।