१९ वर्षपछि बक्सिङ रिङमा फर्किएका ५८ वर्षका माइक टाइसन २७ वर्षका यूट्युवर जेकलाई हराउन सकेनन्

१९ वर्षपछि बक्सिङ रिङमा फर्किएका ५८ वर्षका माइक टाइसन २७ वर्षका यूट्युवर जेकलाई हराउन सकेनन्

एजेन्सी : सर्वाधिक विवादास्पद मानिएको मुक्काबाजी खेलमा जेक पलले ५८ वर्षीय माइक टाइसनलाई अंकका आधारमा पराजित गरे। पूर्व हेभीवेट च्याम्पियन टाइसन १९ वर्षपछि पहिलो पेशेवर खेलमा फर्किएका थिए।

उनले २७ वर्षीय युट्युबर पलसँग नेटफ्लिक्समा प्रत्यक्ष प्रसारित खेलमा प्रतिस्पर्धा गरे। तर उनी सुरुदेखि नै आफ्नो पुरानो लयमा फर्कन सकेनन्। एनएफएलको डलास काउबोइजको गृह मैदान एटीएण्डटी रंगशालामा ७० हजार दर्शकको उपस्थितिमा भएको खेलमा पलले रिङको बाहिरी भागबाट खेल्दै खासै प्रयास नगरी सहज जित हात पारे।

टाइसनले खेलअघि नै आफू चोटग्रस्त रहेको स्वीकारे पनि त्यसलाई कमजोर प्रदर्शनको कारण नबनाएको बताए। पलले भने आफू डरका कारण मुक्का प्रहार गर्न हिचकिचाएको संकेत गर्दै भने, ‘म उहाँलाई केही चोट पुर्याउन खोज्दै थिएँ। तर म डराएको थिएँ, किनभने उहाँ पनि मलाई चोट पुर्याउन खोज्दै हुनुहुन्थ्यो।’

जेक पल युट्युबबाट मुक्काबाजीमा प्रवेश गरेका हुन्। २७ वर्षका उनी उमेर ढल्किँदै गरेका माइक टाइसनसँग प्रतिष्पर्धामा उत्रिएका थिए। टाइसनले रिङमा ८ राउन्ड पूरा गरे तर जेक पलले सर्वसम्मत निर्णयबाट जिते।

दर्शकहरूले टाइसनबाट विशेष प्रदर्शनको अपेक्षा गरेका थिए, तर उनी असफल भए। तेस्रो राउन्डदेखि नै पलले खेलमा वर्चस्व कायम गर्दै पूर्ण नियन्त्रणमा लिएका थिए। उनले सर्वकालिक महान् खेलाडी टाइसनलाई आफ्नो लयमा फर्कनै दिएनन्।

खेलपछि पलले टाइसनको प्रशंसा गर्दै उनलाई सर्वकालीन महान् बक्सर भएको बताए। तर टाइसनले भने यो आफ्नो अन्तिम खेल नभएको बताए।

यस वर्षको सबैभन्दा बहुप्रतीक्षित प्रतिस्पर्धा थियो यो। टेक्सासको आर्लिङ्टनस्थित एटीएण्डटी रंगशालामा टाइसन र पलबीचको भिडन्त शताब्दीकै सबैभन्दा बढी हेरिने मुक्काबाजी खेलमध्ये एक पनि भयो।

मूलतः गृष्म ऋतुमा हुने योजना रहेको यो खेल टाइसनको स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो। तर उनी पेशेवर रूपमा शनिवार पुनः रिङमा फर्किए।

२००५ मा पेशेवर खेलबाट सन्न्यास लिएपछि टाइसनले केही प्रदर्शनी खेलहरू खेलेका थिए। तर पेशेवर खेलमा सहभागी भएका थिएनन्। यो खेलबाट उनी पुन पेशेवर मुक्केबाजीमा फर्किए।

किशोर अवस्थामा उनले बक्सिङ सुरु गरेका थिए। शनिवारको खेल उनको करिअरको लगभग ४० वर्षपछिको ५९औँ खेल हो।

अर्कोतर्फ अभिनेताबाट यूट्युबर हुँदै मुक्काबाजी क्षेत्रमा प्रवेश गरेका जेक पलले आफ्नो पेशेवर करिअरमा राम्रो सुरुवात गरे। युट्युबरहुँदै मुक्काबाजीमा आएका पल ती मध्येका एक हुन् जसले पेशेवर बनेर यस खेलबाट करिअर बनाउने प्रयास गरेका छन्।

उनको छोटो करिअरमा १०-१ को बलियो रेकर्ड छ। टाइसनसँग खेल्न हेभीवेट श्रेणीमा जान लागेका पल आफ्नो युवा उमेर, ऊर्जा र एकै मुक्काले खेल जित्न सक्ने क्षमताका कारण केही हदसम्म डरलाग्दा मानिन्छन्।

'आइरन माइक'को मुक्काबाजी क्षेत्रमा अविवादित हेभीवेट च्याम्पियनसहित ५० जितको प्रभावशाली रेकर्ड छ। तर उमेर र लामो समयको अनुपस्थिति उनका लागि ठुलो चुनौती हो।

टाइसनको ५८ वर्षको उमेरका तुलनामा २७ वर्षीय पल धेरै ताजा, छरितो र ऊर्जावान् छन् साथै हालैका वर्षहरूमा ठुला खेलहरूको अनुभव पनि छ।

मंसिर १, २०८१ शनिबार १८:५०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।