‘प्रधानमन्त्री ओलीले चिनियाँ कार्ड प्रयोग गरेर चीन जान लागेको’ भन्ने प्रचण्डको अभिव्यक्तिपछि एमालेले भन्यो- माफी माग्नू
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाउँदै भारतीय पत्रिका ‘द हिन्दु’मा अन्तर्वार्ता दिएपछि एमालेले त्यसको आपत्ति जनाएको छ।
द हिन्दूका लागि सुहासिनी हैदरसँग अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताएका थिए। त्यसपछि एमालेले आज एक विज्ञप्ति जारी गर्दै कडा निन्दा र भर्त्सना गरेको छ।
एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले विज्ञप्तिमार्फत प्रचण्डको त्यो अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरो गरी असर पार्ने खालको रहेको भनेका छन्।
विज्ञप्तिमा अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति दिएको भनिएको छ।
महासेठले प्रचण्डको टिप्पणी नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य रहेको भन्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका छन्।
प्रचण्डको त्यस अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत र नेपालको स्वतन्त्रताप्रति पूर्णरूपमा अनादर भएको बताइएको छ।
मंसिर १, २०८१ शनिबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।