अझैपनि ३२ सीटको म्याजिक नम्बरले सरकारमा जान सकिने आशामा छन् प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीलाई रक्षा गर्ने भएको बताएका छन्।
शनिबार माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरूलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको बताए।
उनले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको भन्दै कांग्रेस र एमाले जस्ता संसदवादीसँग मिल्दा फोहोर आएकोले पखाल्न पनि नयाँ आन्दोलनमा जानुपर्ने बताए।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको अझै म्याजिक नम्बर नै रहेको भन्दै त्यही म्याजिक सीटकै कारणले अहिल्यै चिन्तित हुनुपर्ने कारण नरहेको बताए।
उनी आफूहरूसँग भएको ३२ सीटको म्याजिक नम्बरकै कारण फेरिपनि यो सरकार उल्ट्याएर माओवादीको नेतृत्वमा सरकार बन्ने आशमा देखिए।
उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरू गर्यौं, हामीसँग संख्या थिएन। यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो। मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरू अझै बढी उद्वेलित र तरंगित पनि भए होलान्। मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु। किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन।’
उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताए।
मंसिर १, २०८१ शनिबार १५:५३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।