डा. मुकेशको उपचार अनुभव : मृत्यु घोषणाका लागि ‘ईसीजी’ कोठामा लैजाँदै गरेका ४५ वर्षीय पुरुषले हात चलाएपछि...

डा. मुकेशको उपचार अनुभव : मृत्यु घोषणाका लागि ‘ईसीजी’ कोठामा लैजाँदै गरेका ४५ वर्षीय पुरुषले हात चलाएपछि...

डा. मुकेश कुमार रञ्जन ‘ग्याष्ट्रोइन्टेरोलोजिष्ट’ चिकित्सक हुन्। घाँटीदेखि खाना नली, आन्द्रा, कलेजो, अग्नाशय (प्यांक्रियाज), पीत्त थैली, पीत्त नली, पाचन प्रक्रिया तथा पेटललगायत मलद्वारसम्मको स्वास्थ्य समस्या पहिचान गरी औषधि उपचार गर्नु डा. मुकेशको दैनिकी हो। उनै डा. मुकेशले चिकित्सकीय पेशाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन्।

मृत्यु घोषणाको तयारी गरिएका बिरामी चल्न थालेपछि...
भारतको चण्डिगढस्थित ‘पोष्टग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजिआइमर)’मा इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययन शुरु गर्दाको एउटा घटना डा. मुकेश कहिल्यै भुल्दैनन्।

करिब दश वर्षअघि एमडी अध्ययनको सुरुवातीमा डा. मुकेशको पहिलो पोष्टिङ अस्पतालको आकस्मिक विभागमा भएको थियो। उनले एमडी अध्ययन थालेको करिब दुई महिना भएको थियो। डा. मुकेश राती आकस्मिक कक्षमा काम गरिरहेका थिए।

राती नै करिब ४५ वर्षका पुरुषलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। अस्पताल पुर्याउँदा ती बिरामी पुरुष अचेत अवस्थामा थिए। बिरामीलाई श्वास फेर्नै कठिन भइरहेको थियो। बिरामीको अवस्था हेर्दा यति जटिल थियो की अन्तिम श्वास लिन मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो।

बिरामीको मुटुको गतिमा समस्या हुँदा शरीरका विभिन्न अंगमा रगत पुग्नै कठिन भएको अवस्था थियो। जसले गर्दा शरीरमा अक्सिजन र रगतको मात्रैमा कमी आएको थियो।

ती बिरामीको मिर्गौलासम्बन्धी दीर्घकालीन समस्या भएको रहेछ। दुवै मिर्गौलाले काम नगर्ने समस्या रहेछ। तर, फेर्नु नै पर्ने अवस्थामा पुगेका मिर्गौला आर्थिक लगायतका कारण फेर्न नसक्दा स्वास्थ्यमा जटिल समस्या निम्तिएको रहेछ।

अस्पताल पुर्याइएका ती बिरामीलाई डा. मुकेश लगायत चिकित्सकको टिमले तुरुन्तै हातले छाती थिचेर सीपीआर गर्दै बिरामीको श्वास र मुटुको ढुकढुकी फर्काउने कोसिस गर्यो। यसरी श्वास फर्काउने उपायलाई चिकित्सकीय भाषामा कार्डियाक मसाज समेत भनिन्छ। चिकित्सकको टिमले ती बिरामीलाई अक्सिजन दियो।

तर, करिब २५ मिनट यसरी सीपीआर गर्दा समेत बिरामीको श्वास प्रश्वास सहज नहुँदा मुटुको गति फर्किएन। कसै गरे पनि श्वास प्रश्वास र मुटुको गति नफर्किएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले बिरामीलाई माया नै मारिसकेको थियो। अब बिरामीको मृत्युको घोषणा गर्न मात्रै बाँकी रह्यो।

श्वास प्रश्वास र मुटुको चाल नफर्किएपछि बिरामीको मृत्यु भयो की भएन भनेर एकिन गर्नका लागि ती मृत अवस्थामा पुगेका बिरामीलाई ‘ईसीजी’ परीक्षण गर्नुपर्ने थियो। त्यसैले करिब मृत अवस्थामा पुगेका ती पुरुषलाई मृत्यु घोषणा गर्नु अघि स्वास्थ्यकर्मीको सहयोगमा श्रीमती र छोराले ट्रलीमा राखेर इमर्जेन्सीसँगैको ‘ईसीजी’ गर्ने कोठामा बिरामी लगिरहेका थिए।

तर, करिब मृत अवस्थामा पुगेका ती पुरुषलाई मृत्यु घोषणाका लागि एकिन गर्न ईसीजी गर्ने कोठामा छिराउनै लाग्दा श्रीमतीले ती पुरुषको हात खुट्टा र शरीर अलिअलि चलेको जस्तो देखिछन्। त्यसपछि दौडँदै डाक्टर भएको ठाउँमा फर्केर ती महिलाले बिरामीले हात चलाएको जानकारी दिइछन्। चिकित्सकले भने खासै पत्याएका त थिएनन्। किनकी ती बिरामीले हातखुट्टा चलाए भन्ने विषय सजिलै गरी पत्याउने अवस्था पनि थिएन।

तर, के हो! के हो! भनेर दौडिएर ती पुरुषलाई ईसीजी गर्न लगिरहेको ट्रलीमा गएर डा. मुकेशले हेरे। मृत्यु घोषणाका लागि तयारी गरिएका ती बिरामीको घाँटीको नसामा उनले हात राखे। बिरामीको मुटुको चाल (पल्स) हेरे। उनलाई ती बिरामीको मुटुको गति हल्का फर्किएको महसुस भयो। त्यसपछि मृत्युको एकिनका लागि ईसीजी गर्न लगिएका ती पुरुषलाई ईसीजी नगरी डा. मुकेशको टिमले तुरुन्तै अक्सिजन दिएर हतार-हतार आकस्मिक कक्षमा फर्काए।

त्यसपछि ती पुरुषलाई तुरुन्तै भेन्टिलेटरमा राखेर औषधि उपचार गरियो। केही बेरमा ती बिरामीको मुटुको गति विस्तारै सन्तुलित रूपमा चल्न थाल्यो। श्वास प्रश्वास पनि हुन थाल्यो। मृत्यु घोषणा नै गर्न ठिक्क पारिएका ती पुरुषको अवस्था बिस्तारै सामान्यतर्फ फर्किँदै गएपछि आईसीयूमा सारियो। आईसीयूमा अर्कै टिमलाई बिरामी जिम्मा लगाएर डा. मुकेश आकस्मिक कक्षमा नै काम गर्न फर्किए। त्यसपछि भने ती बिरामीको अवस्था के भयो भन्ने उनले थाहा पाएनन्।

तर, ती बिरामीलाई उपचार गरेको करिब एक महिनापछि डा. मुकेशको आकस्मिक कक्षबाट मिर्गौला सम्बन्धी वार्डमा पोष्टिङ भयो। पोष्टिङ भएको भोलिपल्ट बिहानै डा. मुकेश वार्डमा पुगे। त्यहाँ पुग्दा तिनै मृत्युको मुखमा पुगेका बिरामीले बेडमा बसेर खाना खाइरहेको देखे।

ती बिरामीलाई देखेपछि उनी सबैभन्दा पहिला तिनै बिरामीको छेउमा पुगे। बिरामीलाई सोधखोज गरे। ती बिरामीकी श्रीमतीले पनि उनलाई चिनिहालिन्। ती बिरामीसँग कुराकानी र औषधि उपचार भइरहेको थियो। बिरामीको स्वास्थ्य सामान्य अवस्थातर्फ फर्किरहेको थियो।

करिब ४५ दिनको औषधि उपचारपछि ती पुरुष अस्पतालबाट डिस्चार्ज नै भए। डिस्चार्ज भएपछि ती बिरामी पुरुष र उनकी श्रीमती ज्यान बचाइदिने चिकित्सकको टिमप्रति कृतज्ञ हुँदै अस्पतालको वार्डबाट बाहिरिए।

यसरी मृत्यु घोषणाको तयारी गरिएका बिरामी बाँचेर घर फर्किएको त्यो घटनाबाट डा. मुकेशले सिकेको थप एउटा ज्ञान हो, ‘चिकित्सकले बिरामीलाई अन्तिम अवस्थासम्म पनि उपचार गर्न छाड्न हुँदैन।’ त्यो घटना सम्झँदा उनलाई अझै लाग्छ, ‘ती बिरामीलाई त्यो दिन थप दुई मिनेट सीपीआर गरेको भए त्यतिबेला नै मुटुको चाल फर्किन्थ्यो सक्थ्यो की!’

त्यसैले विज्ञानले जे भने पनि बिरामी बचाउने सवालमा चिकित्सकले कुनै बेला पनि आशा मार्न नहुने विषयमा डा. मुकेश जहिल्यै सचेत छन्।

जोखिम मोलेर उपचार गरिएका डेंगु संक्रमित व्यक्ति बाँचेपछि...
तीन महिना अघि अन्य अस्पतालमा ठिक नभएपछि करिब ४० वर्षीय पुरुष बिरामीलाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पुर्याइयो। डेंगु संक्रमणका कारण अस्पताल पुर्याउँदा बिरामी अर्धचेत अवस्थामा थिए।

चिकित्सकको टिमले स्वास्थ्य परीक्षण गरेपछि बिरामीको वास्तविक समस्या थाहा भयो। डेंगु संक्रमणका कारण स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल पुर्याइएका ती बिरामीको कलेजो सामान्य अवस्थामा थिएन। यसरी कलेजोले नै सामान्य रूपमा काम गर्न नसकेको अवस्थालाई चिकित्सकीय भाषामा ‘एक्युट लिवर फेलियर’ भनिन्छ।

डेंगु संक्रमणका कारण हातखुट्टा तथा अनुहार सुन्निने जस्ता समस्या थिए भने रक्त सञ्चारको अवस्था सामान्य थिएन। बिरामीको अवस्था जोखिमयुक्त नै थियो। उपचारपछि पनि बिरामीलाई बचाउने विषय निक्कै चुनौतीपूर्ण थियो। जुन कुरा डा. मुकेशले बिरामीका आफन्तलाई राम्रोसँग बताइदिए।

बिरामीको मिर्गौलामा समेत समस्या हुँदै गइरहेको थियो। बिरामीको स्वास्थ्य अवस्था निक्कै बिग्रिएको भए पनि कोसिस गरेर बचाउने प्रयास गर्नेबारे उनले बिरामी पक्षलाई राम्रोसँग बुझाए। बिरामी पक्षले पनि सम्भव भए सम्मको उपचार विधि अपनाएर बिरामीलाई बचाइदिन अनुरोध गरे।

चिकित्सकको टिमले ती बिरामीलाई बचाउनका लागि उपचार शुरु गर्यो। डेंगु संक्रमणका कारण शरीरमा बिकार तत्व बढ्दै जाँदा कलेजो, मिर्गौला लगायत शरीरका अन्य अंगमा समेत खराबी निम्तिरहेको थियो। त्यसैले ‘प्लाज्मा एक्सचेन्ज’ थेरापी विधि अपनाई रगतमा थुप्रिएको विकार तत्व फिल्टर गरेर फाल्नुपर्ने देखियो।

बिरामी पक्ष त अत्तिइरहेको थियो नै। पैसाको अभावका कारण ती बिरामीको कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्था पनि थिएन। चिकित्सकको टिम पनि उपचार गरेर समेत बिरामी बचाउन सकिने हो की नसकिने हो भन्ने विषयमा दुविधामा थियो।

तर, चिकित्सकको टिमले बिरामीलाई बचाउने अन्तिम उपायका रूपमा एउटा उपचार विधि अपनायो। त्यो हो, ‘प्लाज्मा एक्सचेन्ज’ थेरापी। यो विधि अपनाएर उपचार गर्दा पनि ती पुरुष बिरामीको उपचारकै क्रममा ज्यान जाने जोखिम भने कायम नै थियो।

ती बिरामीलाई अस्पतालमा भर्ना गरेर शरीरबाट रगत निकाली फिल्टर गरेर रगतमा भएको बिकार तत्व फालियो अनि शुद्ध रगत शरीरमा राखियो। २/३ पटक रगत फिल्टर गरेर ती बिरामीको शरीरमा शुद्ध रगत राखियो। यसरी औषधि उपचार शुरु गरेपछि ती बिरामीको स्वास्थ्यमा बिस्तारै सुधार हुँदै गयो।

करिब दुई हप्ताको औषधि उपचारपछि त ती बिरामी ठिक भएर अस्पतालबाट डिस्चार्ज नै भए। यसरी डेंगु संक्रमणकै कारण मृत्युको मुखमा पुगिसकेका बिरामीलाई बचाएर घर पठाउन सम्भव भएको प्रसङ्ग सम्झँदा डा. मुकेशलाई पनि आनन्द लाग्छ।

उनलाई जानकारी भएसम्म उपत्यका बाहिर ‘प्लाज्मा एक्सचेन्ज’ थेरापी विधि अपनाएर बिरामीको उपचार गर्ने अस्पताल चितवन मेडिकल कलेज मात्रै हुनसक्छ। अहिले पनि उपचारपछि डिस्चार्ज भएका ती पुरुष फलोअपमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए।

कतिपय बिरामीलाई भने हर सम्भव उपचार प्रयास गर्दा समेत बचाउन सम्भव हुँदैन। चिकित्सकीय विधि अपनाई हरसम्भव प्रयास गर्दा समेत बिरामीको ज्यान बचाउन सम्भव नहुँदा भने निक्कै दुःख लाग्ने गरेको डा. मुकेशले सुनाए।

छात्रवृत्तिमा डाक्टरी अध्ययन
मुकेश रौतहटको हालको राजदेवी नगरपालिका-४ स्थित बसतपुरमा जन्मिएका हुन्। उनले स्थानीय जनता सत्यनारायण माविबाट सन् २००२ मा एसएलसी गरे। एसएलसीपछि उनी थप अध्ययनका लागि काठमाडौं आए। उनले काठमाडौंको नेशनल स्कुल अफ साइन्सेस (निष्ट)बाट प्लस टु गरे। उनले ७९.३ प्रतिशत अंकका साथ प्लसटु गरे।

त्यसपछि मुकेसले सन् २००७ मा भारतको बिहारस्थित नालन्दा मेडिकल कलेज (एमएमसी)मा भर्ना भएर एमबीबीएस अध्ययन शुरु गरे। सन् २०१३ मा इन्टर्नसिपसहित उनको एमबीबीएस अध्ययन पूरा भयो। अध्ययनमा अब्बल उनले एमबीबीएसमा सर्वोत्कृष्ट हुँदा असाध्यै आनन्दानुभूति भएको अनुभव सुनाए।

एमबीबीएसपछि डा. मुकेशले भारतकै चण्डिगढस्थित ‘पोष्टग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजिआइमर)’ मा इन्टरनल मेडिसिन विषयमा सन् २०१४ एमडी अध्ययन शुरु गरे। सन् २०१६ मा उनी तीन वर्षे एमडी सकेर नेपाल फर्किए। नेपाल फर्किएपछि उनले करिब डेढ वर्ष चितवन मेडिकल कलेजमा सहायक प्राध्यापकका रुपमा काम गरे।

एमबीबीएसपछि एमडी अध्ययन गर्ने प्रयास गर्दाका विभिन्न प्रक्रियागत समस्या भेल्नुपर्दाको क्षणहरू सम्झँदा उनलाई अलि खल्लो लाग्छ। तर, निक्कै मेहनतपछि छात्रवृत्तिमा एमडी अध्ययन गर्न पाउँदाको क्षण सम्झँदा भने उनलाई बडो आनन्द लाग्छ।

छनोटमा पेटजन्य रोग
डा. मुकेशलाई अध्ययनको भोक मरेकै थिएन। त्यसैले उनले चितवनमा करिब डेढ वर्ष काम गरेपछि भारतकै नयाँ दिल्लीस्थित अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा ‘ग्याट्रो इन्टेरोलोजी’ विषयमा ‘डीएम’ गरे। यो विधावारिधि सरहको विशिष्टिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन हो।

सन् २०१९ देखि २०२१ सम्म तीन वर्षे डिएम अध्ययन सकेर उनी नेपाल फर्किए। डिएम अध्ययनपछि चितवन मेडिकल कलेजमा नै सह-प्राध्यापकका रूपमा उनी काम गर्न थाले। तीन वर्षयता डा. मुकेश  चितवन मेडिकल कलेजमा नै काम गरिरहेका छन्। चिकित्सा शास्त्रका विद्याथ्र्रीलाई पढाउने अनि बिरामीको औषधि उपचार गर्नु उनको अहिलेको दैनिकी हो।

बिरामीको औषधि उपचार मात्रै हैन, अध्ययन अनुसन्धानलाई पनि उनी प्राथमिकता दिन्छन्। डा. मुकेश का ४० वटा भन्दा बढी वैज्ञानिक अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्।

कात्तिक ३०, २०८१ शनिबार १३:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।