मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ। आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ। गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रमक अवतारको सिंहको टाउको प्रतीक रहेको छ।

भगवान बुद्धको जन्मस्थानको रूपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो।

जर्सी अनावरणमा बोल्दै प्रमुख अतिथि आनी छोइङ डोल्माले संसार भरका सबै मानिसहरूको मन मस्तिष्कमा शान्ति फैलाउन भगवान बुद्धको भूमिका रहेको जसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्ने बताइन्।

जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको बताए।

उनले भने, ‘लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो।’

त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेको बताए।

उनले भने, ‘निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ। साथै सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको छ। यो जर्सी हाम्रो एकता, जोश, र उत्कृष्टताको प्रतीक हो।’

कात्तिक ३०, २०८१ शनिबार १३:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।