झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो, प्रहरी भन्छ- ‘यातायातबाट पनि भेरिफाइ भयो’
काठमाडौं : आफूले चलाएको सवारीबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका झाँक्री प्रकाश भुजेलसँग सवारी चालक अनुमति पत्र भएको पुष्टि भएको छ।
झाँक्रीको सवारी चालक अनुमति पत्र भेटिएको र यातायात व्यवस्था विभागमा भिडाउँदा उनकै भएको पुष्टि समेत भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए। उनका अनुसार दुर्घटना तीव्र गतिका कारण भएको हो।
ती अधिकारीले भने, ‘भजुेलको लाइसेन्स भेटियो। यातायातबाट पनि भेरिफाइ भयो। अब थप अनुसन्धान अघि बढ्छ।’
गत बुधबार शंखरापुर नगरपालिका-९ इन्द्रायणीमा भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका-२ घर भएका नारायण नगरकोटीको मृत्यु भएको थियो।
सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते थिइन्। उनको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।
प्रहरीले भुजेलमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएपछि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने ३५ वर्षीय झाँक्री भुजेल दुर्घटनापछि बुधबारै फरार भएका थिए। त्यसपछि प्रहरीले उनलाई समातेको थियो। दुर्घटनाकै दिन भुजेलको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सुरूमा प्रहरीसँग झाँक्री भुजेलले लाइसेन्स घरमै छुटेको भनेका थिए। त्यसपछि प्रहरीले घरबाट लाइसेन्स मगाउँदा पनि झाँक्रीले प्रहरीसामु लाइसेन्स पेश गर्न सकेका छैनन्। लाइसेन्स नलिई सवारी चलाएकै कारण उनीमाथि हत्यामा अनुसन्धान भइरहेको थियो।
सवारी ज्यानमा मुद्दा खेपिरहेक भुजेलको सवारी चालक अनुमति पत्र नभेटिएको भए कर्तब्य ज्यानको मुद्दा चल्ने थियो।
मंसिर १, २०८१ शनिबार १२:१०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।