भारतको झाँसीमा मेडिकल कलेजको एनआईसीयू कक्षमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

भारतको झाँसीमा मेडिकल कलेजको एनआईसीयू कक्षमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगलागी भएको हो। झाँसीका जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० नवजात शिशुको मृत्यु भएको पुष्टि गरेका छन्।

झाँसीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सचिन मोहरले अक्सिजन कन्सेन्ट्रेटरमा आगलागीका कारण यो घटना भएको बताएका छन्। आगलागीको समय एनआईसीयू वार्डमा ५४ बालबालिका रहेको उनले जानकारी दिए।

उनले भने, ‘अचानक अक्सिजन कन्सेन्ट्रेटरमा आगो लाग्यो, निभाउने प्रयास गरिएको थियो। तर कोठा अत्यधिक अक्सिजन भएकोले आगो तुरुन्तै फैलियो। हामीले सकेसम्म धेरै बच्चाहरूलाई बाहिर निकाल्ने प्रयास गर्यौँ।’

घटनाको जानकारी दिँदै झाँसी जिल्लाका डीएम अविनाश कुमारले राति साढे १० देखि पौने ११ बजेको बीचमा एनआईसीयूभित्र सर्ट सर्किट भएर आगलागी भएको बताए।

यूपीका उपमुख्यमन्त्री ब्रजेश पाठक शनिबार बिहानै घटनास्थल पुगेर घटनाको उच्चस्तरीय छानबिनका लागि निर्देशन दिइएको जानकारी दिए।

कात्तिक ३०, २०८१ शनिबार ०८:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।